सकियो स्थायी कमिटीको बैठक, २८ गते पुनः बैठक बस्ने

सफल खबर संवाददाता

आइतबार, २१ मंसिर २०७७, १५ : ५४
सकियो स्थायी कमिटीको बैठक, २८ गते पुनः बैठक बस्ने

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक सकिएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा नेकपाको मुख्यालय धुम्बाराहीमा चलेको स्थायी कमिटी बैठक करिब २ घन्टामा सकिएको हो।

शनिबारको सचिवालय बैठकमा ओलीले पार्टी विवाद सचिवालय बैठकबाटै मिलाउनुपर्नेमा पुनः जोड दिएका थिए । सचिवालय बैठकमा बोल्दै ओलीले अधिकांश सदस्यहरुले सचिवालयबाट निकास ननिस्केपछि दुवै अध्यक्षका प्रतिवेदनमाथि स्थायी कमिटीमा छलफल गरेर निष्कर्ष निकाल्न दिएको सुझावलाई प्रतिवाद गर्दै स्थायी समितिलाई ‘रत्यौली’को संज्ञा दिएका थिए। 

आजको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले स्थायी समितिमा पार्टीको आन्तरिक समस्याबारे छलफल भएको जानकारी दिए । 
बैठकमा सहभागी नभएका ओलीले स्थायी समितिलाई सम्बोधन गरेर पत्र पठाएको उनले जानकारी दिए । सचिवालय सदस्य ईश्वर पोखरेलमार्फत आएको सो पत्रमा प्रचण्डको प्रस्तावलाई औपचारिक रुपमा बैठकमा छलफल गर्न नसकिने ओलीले धारणा राखेका थिए । 

ओलीको असन्तुष्टिका बीच बैठकमा ओली र प्रचण्डको यसअघिको दुबै प्रस्ताव पेश भएको छ भने सो प्रस्ताव अध्ययनका लागि ७ दिनको समय दिइएको छ । अर्को बैठक २८ गतेका लागि बोलाइएको र यसअघि नै तय भएको केन्द्रीय समिति बैठक पुस ५ गतेका लागि सारिएको पनि श्रेष्ठले जानकारी दिए । 

बैठकमा अधिकांश समय अर्का अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरेका थिए।
अध्यक्ष ओली तथा अन्य विभिन्न कारणले उपस्थित हुन नसकेका केही सदस्यहरुबाहेक अन्य सदस्यहरुको बैठकमा उपस्थिति थियो।

अध्यक्ष ओली भने बैठक सुरु हुने बेला राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए।

प्रतिक्रिया दिनुहोस