गोरु तस्कर गर्ने पाँच जना पक्राउ, १२१ वटा गोरु नियन्त्रणमा

सफल खबर संवाददाता

शनिबार, २० मंसिर २०७७, १३ : ४९
गोरु तस्कर गर्ने पाँच जना पक्राउ, १२१ वटा गोरु नियन्त्रणमा

सांकेतिक तस्विर

रुपन्देही । रुपन्देहीमा गोरु तस्कर गर्ने पाँचजना पक्राउ परेका छन् । शनिबार बिहान रुपन्देही बुटवल उपमहानगरपालिका–६ अस्पताल लाइनस्थित पूर्वपश्चिम राजमार्गमा गोरु लोड गरी पश्चिम तर्फबाट पूर्वतर्फ लैजाँदै गर्दा प्रहरीले गोरुसहित ५ जना तस्करलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तस्करहरुले ६ वटा ट्रकमा १२१ वटा गोरु लोड गरेर लैजाँदै थियो,’ रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्य नारायण थापाले भने, ‘तस्करहरुले निर्धक्क रूपमा गोरु तस्करी गर्दै आइरहेको सूचना हामीलाई आएपछि नियन्त्रणमा लिन सफल भएका हौं ।’

गोरु ओसारपोसार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा गोरुसहित गोरु तस्करहरु बारा निजगढ नगरपालिका–८ का ३६ वर्षीय गणेश पौडेल, बारा सिमरा नगरपालिका–१६ का ३८ वर्षीय तिलक बहादुर जिम्बा, बरा निजगढ न.पा.–९ का ५२ वर्षीय शम्भु भट्टराई पक्राउ परेका डीएसपी थापाले बताए ।

त्यस्तै डीएसपी थापाका अनुसार पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१४ का ३० वर्षीय लक्ष्मण दैन र बरा निजगढ नगरपालिका–९ बस्ने ३२ वर्षीय नवराज कार्की रहेका छन् । पाँचै जना ट्रक चालक हुन् ।

ना ५ ख. ५६५५ नम्बरको ट्रकमा २२ वटा गोरु, ना ८ ख. ७३०२ नम्बरको ट्रकमा २५ वटा गोरु, बागमती प्रदेश ०३–००१ ख ०३३३ नम्बरको ट्रकमा २५, ना ट ख. ५७१२ नम्बरको ट्रकमा २३ वटा गोरु र ना ६ ख. ७५३९ नम्बरको ट्रकमा २६ वटा गोरु रहेको थियो ।

पछिल्लो समय रुपन्देहीमा गोरु तस्कर गर्ने समूह सक्रिय बनेको छ । तस्करहरुले दिनरात नभनी ट्रकमा गोरु लोड गरेर पश्चिम तर्फबाट पूर्वतर्फ गोरुहरु लैजाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस