भेनेजुयाली नागरिकको शरणार्थी दावी गर्ने क्रम बढ्दो : राष्ट्रसंघ

बुधबार, ३० फागुन २०७४, ०९ : ३९
भेनेजुयाली नागरिकको शरणार्थी दावी गर्ने क्रम बढ्दो : राष्ट्रसंघ

जेनेभा,स्वीट्जरल्याण्ड । सन् २०१७ को शुरुदेखि अहिलेसम्म भेनेजुयलाबाट भागेर विभिन्न मुलुक पुगी आफुहरूलाई शरणार्थीको रूपमा ग्रहण गरिदिन करिब एक लाख जनाले निवेदन दिएका संयुक्त राष्ट्रसंघले जनाएको छ ।

पछिल्लो समय भेनेजुयलाबाट पलायन भई विश्वका विभिन्न क्षेत्रमा पुग्ने नागरिकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । राष्ट्रसंघको शरणार्थी मामिला हेर्ने निकाय (यूएनएचसिआर)का अनुसार सन् २०१४ को तुलनामा त्यसपछिका दिनमा शरणार्थीको स्थान खोज्दै विदेश भौतारिने भेनेजुयालीको सङ्ख्यामा दुई हजार प्रतिशतले वृद्धि भएको छ । यसमा पनि पछिल्ला १४ महिनामा उक्त सङ्ख्यामा नाटकीय रूपमा वृद्धि भएको छ ।

भेनेजुयलामा पछिल्ला केही महिना यता आर्थिक तथा राजनीतिक सङ्कट बढ्दो देखिएपछि यूएनएचसीआरले भेनेजुयलाको वरपरका आठ मुलुकमा लागु हुनेगरी क्षेत्रीय उद्धार योजना ल्याएको, यूएनएचसीआरका प्रवक्ता आइकातारिना कितिदीले भन्नुभयो ।

“भेनेजुयलामा जारी राजनीतिक सङ्कटका कारण विदेशिएका भेनेजुयाली नागरिक स्वदेश फर्किन नमान्ने गरेका पाइन्छ,” उहाँले बताउनुभयो । भेनेजुयालाको राजनीतिको प्रत्यक्ष प्रभाव ब्राजिल र त्यो पनि बोआभिष्टा शहर वरपर रहेको उहाँको भनाई छ ।

कितिदीका अनुसार उक्त क्षेत्रमा करिब ४० हजार मानिसले शरण लिई बसेका छन् । उक्त ठाउँमा रहेका सयौँ भेनेजुयाली नागरिक खुला आकाशमा रातदिन विताउँदै आएका छन् ।(रासस÷एएफपी)

प्रतिक्रिया दिनुहोस