बझाङ । मूलढोकाबाट भित्र छिर्नेबित्तिकै रंगीन फ्रेममा सजिएको एउटा हँसिलो तस्बिर आँखामा ठोकिन्छ । त्यो तस्बिरमा मन्द मुस्कानसहित घरअगाडि उभिएकी देखिने सम्झना कामीको भौतिक अस्तित्व अब यही फ्रेमभित्र मात्रै सीमित छ । बलात्कारपछि हत्या गरिएकी सम्झना कामीका दुई बहिनीहरू रेश्मा र करिश्मा ।
गत असोज ७ गते बलात्कारपछि बीभत्स हत्या गरिएकी १२ वर्षीया सम्झनाका सम्झनाहरू भने अहिले पनि ताजै छन् । जसका कारण घटना भएको तीन महिना पुग्न लाग्दा पनि उनका दुई बहिनीहरू सामान्य हुन सकिरहेका छैनन् । नातिनीहरू झस्केको देख्दा हजुरबुबा–हजुरआमाको मनको बाँध पनि पटकपटक भत्किन्छ । उनीहरूका आँखा पनि अहिलेसम्म ओभाएका छैनन् ।
‘मर्ने मरेर गइहाली, ऊसँगै मर्न सकिँदैन भनेर हामीले त मन गाँठो पार्ने कोसिस गर्छौं । नातिनीहरूले बिर्सन दिँदैनन्,’ सम्झनाकी हजुरआमा हाँसु कामीले भनिन्, ‘कहिले फोटो हेरेर रुन्छन् । कतै खेल्न गए पनि दिदीको याद आयो भनेर रुँदै घर आउँछन् । कहिले मध्यरातमा उठेर दिदी भन्दै चिच्याउँछन् । यिनीहरूलाई सम्झाउन खोज्दा हामी पनि मन थाम्न सक्दैनौं, रोएरै दिन काटिरहेका छौं ।’
सम्झनाको हत्या हुनुभन्दा तीन वर्षअघि उनकी १० वर्षकी माइली बहिनी रेश्मा र आठ वर्षीया साहिँली बहिनी करिश्मालाई बाजेबज्यैको साथ छाडेर उनीहरूका आमाबुबा भारतको बेंग्लोर गएका थिए । विपन्न परिवारका यी बालिकाहरू त्यसयता मस्टा गाउँपालिकाको खिकालामा बाजेबज्यैकै संरक्षणमा हुर्के पनि रेश्मा र करिश्माको आत्मीय अभिभावक, मन मिल्ने साथी र शिक्षक उनै सम्झना थिइन् ।
घरमा भएका दुईवटा बाख्रा उनीहरू मिलेर चराउँथे । सिमथलाको जंगल ९सम्झनाको हत्या भएको ठाउँ, जहाँ उनीहरूको गोठ छ० मा सँगै लुकीपाई खेल्थे । बाख्रा चराउन को जाने भन्ने विषयमा कहिले उनीहरूको ठाकठुक पर्थ्यो । अन्ततः बहिनीहरूको जिद्दीका अगाडि सम्झना नै हार्थिन् । कि सबै मिलेर बाख्रा चराउन जान्थे कि त सम्झनाले अरू काम गरेर बहिनीहरूलाई बाख्रा चराउन पठाउँथिन् । कक्षा ६ मा पढ्ने सम्झना सधैं प्रथम हुन्थिन् । आफू गृहकार्य गर्दा ४ र ३ कक्षामा पढ्ने बहिनीहरूलाई नजानेको सिकाउनु उनको नियमित काम हुन्थ्यो । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १९ मंसिर २०७७, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाकविको सम्झनामा स्मृति काव्य उत्सव