केपी ओली सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट

सफल खबर संवाददाता

विहीबार, १८ मंसिर २०७७, १४ : ४४
केपी ओली सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौँ । नेकपाको झन्डै दुई तिहाइ बहुमतको केपी ओली नेतृत्वको सरकारविरुद्ध सर्वोच्चमा अदालतमा रिट दायर भएको छ । प्रदेश नं २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र प्रसाद सोनालले यो सरकारबिरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण आदेश जारी गरी पाउँ भनेर रिट दायर गरेका हुन्। 

रिटमा ओली नेतृत्वको संघीय सरकारले प्रदेश सरकारको अधिकार हनन र कटौती गरेर संघीयताको मर्म विपरित कार्य गरेको आरोप लगाइएको छ । जनता समाजवादी पार्टीका नेता सोनाल ले रिट दायर गरेपछि यसको अहिले सवत्र्र चर्चा भइरहेको छ । 

रिटमा भूमिगत जलस्रोत विकास समितिको परिपत्रमा हाल प्रदेश सरकारले प्रयोग गर्दै आएको भवन, सवारी साधनलगायत भौतिक साधन संघीय सरकारलाई फिर्ता गर्ने र प्रदेशको अधिकार क्षेत्र हस्तक्षेप गरी कार्यक्रम सञ्चालन गर्न भनेको भन्दै बदर गर्न माग गरिएको छ ।

प्रदेश नं दुई सरकारले संघीय सरकारको शैलीबिरुद्ध पटक–पटक असहमति राख्दै आएको छ । ओली नेतृत्वको संघीय सरकारले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन नगरेको आरोप प्रदेश नं २ ले लगाउँदै आएको छ । 

त्यस्तै हाल डिभिजन कार्यालयले प्रयोग गर्दै आएको सवारी साधन, भवनलगायतका भौतिक साधन स्रोत पनि संघ मातहतका कार्यालयलाई फिर्ता गर्न भनिएको छ । प्रदेश २ सरकारले संविधानको अनुसूची ६ अनुसार प्रदेशको अधिकार क्षेत्रमा पर्ने काममा संघीय सरकारले हस्तक्षेप गरेको बताएको छ ।
 

प्रतिक्रिया दिनुहोस