पार्टी फुटाउने उदेश्यका साथ आयो प्रधानमन्त्री ओलीको प्रस्ताव

सफल खबर संवाददाता

आइतबार, १४ मंसिर २०७७, ०९ : १०
पार्टी फुटाउने उदेश्यका साथ आयो प्रधानमन्त्री ओलीको प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पार्टी फुटाउने उदेश्यले आफनो प्रस्ताव ल्याएका छन् । पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले ल्याएको प्रस्ताव पार्टीमा छलफल समेत हुन नसक्ने र त्यसलाई खारेज गर्नुपर्ने, प्रस्ताव ल्याएकोमा आत्मआलोचना गर्दै माफी माग्नुपर्ने, पार्टीमा बहुमत अल्पमतको विधिबाट निर्णय प्रक्रियामा जान नहुने र गएमा त्यसलाई आफुले नमान्ने र त्यस्तो प्रक्रियामै जानै पर्ने भए पार्टी एकता अगाडीको अवस्था २०७५ जेठ २ अगाडी जानुपर्ने भन्दै ओलीले सचिवालय बैठकमा अहंकार र दम्भले भरिएको प्रस्ताव ल्याएका हुन् । 

उनले आफ्नो तर्फबाट कुनै कमजोरी नभएको जस्ता फतुर तर्क गर्दै आफुले आफैलाई ब्रम्हज्ञानीका रुपमा प्रस्तुत गर्न खोजेका छन् । तत्कालिन एमाले र माओवादी एकता भईसकेपछि घोलमेल भईसकेको अवस्थामा उनले तत्कालिन एमाले पंक्तिलाई एकताबद्ध बनाउने प्रयास गर्दै माओवादी धारलाई होच्याउने र निस्तेज गर्न खोज्ने गरी प्रस्ताव ल्याएका छन् । पार्टी कमिटि आफ्ना लागि केही होइनन्, म आफै सर्वाेपरी हुँ भन्ने शैलीमा ओलीले प्रस्ताव मात्र ल्याएका छैनन्, शनिबारको सचिवालयमा आफ्नो प्रस्तुती पनि सोही अनुसारकै दिएका छन् । सचिवालयका एक सदस्यका अनुसार, प्रधानमन्त्री ओलीले पार्टी विभाजनको शैलीमा प्रस्ताव ल्याएका छन् ।

‘उहाँ (प्रधानमन्त्री) मा एकदमै दम्भ र अहंकार देखियो, म नै पार्टी हुँ, म नै सर्वाेपरी हुँ, अरुले आफुमाथी लगाउने गरेका आरोप केही होइनन्, ति सबै खारेज गर्नुपर्छ, म विरुद्ध कसैले केही भने त्यो पार्टी कमिटिमा छलफल पनि हुन सक्दैन, छलफल गर्न खोजे पार्टी विभाजन हुन्छ, पार्टी एकता अगाडीको अवस्थामा फर्किनुपर्छ भन्ने शैलीमा उहाँले आफ्नो प्रस्तुती सचिवालय बैठकमा गर्नुभयो । प्रस्ताव पनि त्यस्तै ल्याउनु भयो,’ सचिवालयका एक सदस्यले सफलखबरसँग भने,–‘ओलीले सक्दा पूर्व एमालेका साथीहरुलाई एकजुट होऔं भन्दै पार्टी विभाजनको प्रस्ताव बोकेर आउनुभयो । यो खेदजनक छ ।’

ओलीले आफनो पक्षमा पार्टीमा बहस गर्न कसैले नसक्ने भन्ने शैलीमा आफनो प्रस्तुती दिएका थिए । आफ्नो आङको भैसी नदेख्ने तर अर्काको आङको जुम्रा देख्ने प्रवृत्तिका रुपमा ओलीले आफ्नो प्रस्तुती सचिवालयमा दिएका छन् । उनले पार्टीका अध्यक्ष प्रचण्डलाई खुमलटारमा भेट गर्न आईपुगेका नेताहरुसँग भेटघाट गर्दा गुटबन्दी गरेको आरोप लगाउदै आएका छन् । तर रातभर आफु निकट नेताहरुको भेटघाट र जमघट गर्ने,  आफुले बालुवाटारको सुरक्षाकवजभित्र बसेर पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड र अन्य नेताहरुको बदख्याईका लागि अनेक तानाबाना बुनेको विषयमा भने मौन बसेका छन् ।

आफना लागि जे पनि छुट हुने र अरुले कुनै नेता भेटघाट गर्न समेत नपाउने शैलीको ओलीको ठाटबाठ पार्टी बैठकमा देखा परेको छ । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै नछोड्ने भन्दै उनले आफुलाई बहुमत अल्पमतका बलमा पार्टीमा हटाउन खोजिए, त्यसले एकताको आधार भत्काउने जिकिर ओलीले गरेका छन् । उनले प्रचण्डको प्रस्तावले पार्टी अनौपचारिक विभाजनको काम गरेको आरोप लगाएर भित्र भित्र भने आफु पार्टी विभाजनको प्रयासमा लागेको देखिएका छन् । उनको शनिबारको सचिवालय बैठकमा प्रस्तुत अभिब्यक्ति र उनले राखेको ३८ पृष्ठ लामो प्रस्तावले प्रष्ट सन्देश दिएको छ, उनी पार्टी विभाजनको रोडम्याप खोजिरहेका छन् ।

उनका प्रस्ताव र अभिब्यक्तिले प्रष्ट रुपमा सन्देश बोकेर आएको छ ।
१) म पार्टीको सर्वाेपरी हुँ । कसैले मेरो विरोध गरेर केही लछारापाटो लगाउँदैनन् । ओलीले पार्टीमा आफ्नो कसैले विरोध र आलोचना समेत गर्न नपाउने शैलीको प्रस्तुती दिएका छन् । सरकार गठनको तीन वर्षसम्म पनि पार्टीमा कहिल्यै सरकारका काम कारवाहीका विषयमा समिक्षा गर्न नदिएका ओलीले आफ्नो एकलौटी र निरंकुश सरकार सञ्चालनलाई दुनियाले जाति भनिदिउन या नभनिदिउन आफैले गज्जब गरेको छु भन्दै आत्मरती लिने प्रयास गरेका छन् ।

२) प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै छोड्दिन 
ओलीले पार्टी अध्यक्ष महाधिवेशन अगाडी नछोड्ने र अर्काे चुनावसम्म प्रधानमन्त्री पनि नछोडने जिकिर गरेका छन् । चुनावमा वाम गठबन्धनले ल्याएको भोट आफ्नै कारण आएको जस्ता फतुर गफ गर्न थालेका छन् । जनताका बीचमा नांगिदै जादा पनि उनलाई आफु कथित प्रिय रहेको भ्रम कायम छ । उनले पार्टी महाधिवेशन सम्म पार्टीमा मेरै शासन चल्छ, सरकार पनि मेरै हो भन्ने शैलीमा दुवै पद कसैले भन्दैमा नछोड्ने बताएका छन् ।

३) बहुमत अल्पमतले आफुविरुद्ध निर्णय लिन सक्दैनन्
पार्टीमा बहुमत अल्पमतले आफु विरुद्ध कुनै निर्णय लिन सक्दैनन् भन्ने दम्भ ओलीमा छ । उनले आफुले जे गरेपनि सही हुने र त्यो नै पार्टी र सरकारको निर्णय हुने भन्दै बहुमत अल्पमतले कुनै निर्णय लिन नसक्ने ओलीले जिकिर गर्न खोजेका छन् । पार्टीका हरेक कमिटिमा अल्पमतमा परेपछि उनले बहुमत अल्पमतको सहारा लिन नहुने बताएका हुन् । आफुलाई अनुकुल हुँदा बहुमतको डन्डी चलाउने तर अनुकुल पायक नपर्ने भएपछि बहुमत अल्पमत हुदैन भनेर विधान विपरितका चेतावनी दिन थालेका छन् ।

४) पूर्व एमाले एक बनाएर माओवादी धारलाई अचेट्ने
पूर्व एमाले धारका नेताहरुलाई एक बनाएर उनले पूर्व माओवादी धार त्यसमा पनि अध्यक्ष प्रचण्डलाई अचेट्ने नीति अख्तियार गर्न खोजेका छन् । उनलाई पार्टी एकताको कुनै चासो र चिन्ता देखिएको छैन् । उनी सकभर एमाले धारका नेताहरुलाई एक बनाउने र पार्टी विभाजन गर्ने सोचमा छन् । उनको सोचलाई वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र उपाध्यक्ष गौतमले साथ दिन नसक्ने बताएका छन् ।

५) पार्टी एकता पूर्वको अवस्थामा जाने ओलीको चाहना
उनी पार्टी सल्लाहमै विभाजन गरौं भन्ने सम्मको अवस्थामा पुगेका छन् । उनले यो सोचका विषयमा प्रचण्डसँग पनि प्रस्ताव गरिसकेका थिए । तर उनको सल्लाहमै पार्टी विभाजन गर्ने कुरामा प्रचण्डको आपत्ति पछि उनले अहिले फेरि आफुलाई अप्ठयारोमा पारेमा पार्टी एकता पूर्वको अवस्थामा जानुपर्ने नौटंकी प्रस्ताव पार्टी बैठकमा राखेका छन् । जसको प्रचण्ड र वरिष्ठ नेता नेपालले कडा जवाफ दिएका छन् ।
सारमा ओली पार्टी विभाजनको मुडमै देखिएका छन् । उनले ल्याएको प्रस्ताव पनि विभाजनको रोडम्याप बोकेर ल्याएको देखिएको छ ।
 

प्रतिक्रिया दिनुहोस