मेयरलाई गोली हानेको अभियोगमा विप्लवका तीन कार्यकर्ता पक्राउ

मंगलबार, २९ फागुन २०७४, ११ : २६
मेयरलाई गोली हानेको अभियोगमा विप्लवका तीन कार्यकर्ता पक्राउ

 कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार गरेको आरोपमा  तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु तीनै जना विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले घटनामा संलग्न रहेको आशंकामा तीन जना विप्लवका कार्यकताहरुलाई पक्राउ गरिएको पुष्टि गरेका हुन् ।

चौधरीलाई उनकै निवासमा सोमबार साँझ गोली र खुकुरी प्रहार भएको थियो । चौधरीको टाउकोमा खुकुरी र कम्मरमुनी गोलीको छर्रा लागेको थियो । प्रहरीले घटनास्थलबाट से २ प ३६७१ नम्बरको मोटरसाईकल पनि बरामद गरेको थियो ।

गत बिहीबार घोडाघोडीमै राधा चौधरीमाथि ‘बोक्सी’को आरोपमा झाँक्री रामबहादुर चौधरीले दुर्व्यवहार गर्दा मेयर ममताप्रसाद चौधरी रमिते बनेको भन्दै उनी विवादित भएका थिए ।

मेयर चौधरीले राधा चौधरीलाई बोक्सी आरोपमा कुटपिट गर्ने दोषीहरुलाई प्रहरीबाट छुटाउन समेत खोजेको आरोप छ ।

त्यही विषयलाई लिएर उनीमाथी विप्लवको नेकपाका कार्यकर्ताले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपी नेकपाले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रतिक्रिया दिनुहोस