तस्करलाई गैंडाको संरक्षण गर्न प्रेरित गर्दै निकुञ्ज

सफल खबर संवाददाता

बुधबार, १० मंसिर २०७७, ११ : २१
तस्करलाई गैंडाको संरक्षण गर्न प्रेरित गर्दै निकुञ्ज

चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करको अभियोग लागेर सजाय भुक्तान गरेकाहरुलाई गौडा संरक्षणमा लाग्न प्रेरित गरेको छ ।

निकुञ्जमा गैंडा संरक्षणको चुनौति बढीरहेको बेला निकुञ्ज प्रशासनले यस अघि तस्करमा लागेर सजाय भुक्तान गरेका चेपाङ समुदायका केही व्यक्तिहरुलाई गैंडा संरक्षणमा प्रेरित गरेको हो । एक दशक अघि गैडाको खाग तस्कर गर्नेहरुले निकुञ्ज आसपास बस्ने चेपाङ समुदायका व्यक्तिहरुलाई प्रयोग गरी गैंडा मार्न लगाएको र सोही अभियोगमा सजाय भुक्तान पुरा गरेका व्यक्तिहरुलाई अहिले गैंडाको संरक्षणका लागि काम गर्न प्रेरित गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । 

तत्कालिन समयमा गैंडाको चोरी सिकारमा एउटै गाउँका ४० जना सम्म संलग्न भएका थिए । चेपाङ समुदायका तिनै व्यक्तिहरुलाई अहिले गैंडा संरक्षणमा जुटन निकुञ्जले प्रेरित गरेको हो । निकुञ्जका प्रमख संरक्षण अधिकृत बरालले निकुञ्ज सम्बन्धी ऐनले निकुञ्जमा तस्करी गर्नेहरुलाई १० लाख रुपैयाँ सम्म जरिमाना र १५ वर्ष सम्म कैदको सजाय गरेकाले पनि तस्करीको काममा नलाग्न आग्रह गरे ।

तस्करमा संलग्न भएका व्यक्ति तथा उनीहरुका आफन्तहरुले भने चेपाङ समुदायका लागि आयआर्जनका कार्यक्रम सञ्चालन गरे तस्करी कम हुने बताएका छन् । विगतमा अशिक्षाका कारण तस्करीमा प्रयोग भएको उनीहरुले बताए । त्यसैले चेतना मुलक कार्यक्रम गर्दै आयआर्जनमा प्रेरित गर्न सके तस्करी कम हुने उनीहरुको भनाई छ । 

आर्थिक रुपमा असुरक्षित भएमा गैंडाको संरक्षण गर्न सम्भव नभएको पनि चेपाङ समुदायका युवाहरुले बताएका छन् । आर्थिक, सामाजिक क्षेत्रमा अब्बल हुनेतर्फ आफुहरुलाई प्रेरित गर्न निकुञ्ज प्रशासन समक्ष उनीहरुले माग गरेका छन् ।    

चितवन राष्ट्रिय निकुञ्जमा लगातार तीन वर्ष शुन्य चोरी सिकार वर्ष मनाइएको थियो । तर यो चालू अर्थिक वर्षमा खाग चोरी नभए पनि तस्करले चार वटा गैंडा मारिसकेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा एकै वर्ष ३८ वटा गैंडा मारेर तस्करी भएको इतिहास समेत छ ।

तस्करीमा लागेका कतिपय चेपाङहरु अहिले कैद भुक्तान गरेर घर फर्किएका छन् भने कतिपय सजाय भुक्तान गरिरहेका छन् । कैद भुक्तान गरेर फर्किएका केही व्यक्तिहरु फेरी तस्करमा संलग्न हुन थालेपछि निकुञ्जले गैंडा संरक्षणमा चेपाङ समुदायलाई प्रेरित गरेको हो ।

प्रतिक्रिया दिनुहोस