माओवादी अध्यक्ष प्रचण्डद्धारा बादरमुढे स्मारकमा माल्यार्पण (भिडियो सहित)

शनिबार, ०९ मंसिर २०७४, २० : ३१

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको क्रममा घटेको सबैभन्दा ठूलो भुलवस् गल्ती भएको बताउनु भएको छ । माडीको बाँदरमुढेमा निर्मित स्मारकमा आज बिहान माल्यार्पण गर्दै उहाँले बाँदरमुढेका पीडितप्रति आफ्नो सधै सम्मान रहेको बताउनु भयो । प्रचण्डले पीडित परिवार र मृतकहरुका पक्षमा दीर्घकालिन प्रकृतिका काम गर्ने पनि बताउनु भयो ।
बाह्र बर्ष अघि शशस्त्र द्धन्द्धमा तत्कालीन माओवादीले थापेको बिद्युतिय एम्बुसमा यात्रुबाहक बस परेर सोहि ठाउँमा ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाईते भएका थिए । सोहि घटनाका कारण राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा माओवादी आलोचित बनेको थियो ।

माडीको अयोध्यापुरीबाट नारायणगढतर्फ आईरहेको ना २ ख ३२४५ नम्बरको बसलाई कल्याणपुर र बसन्तपुर बजारको बीचमा पर्ने बाँदरमुढे खोलामा माओवादीले एम्बुसमा पार्दा सो घटना भएको थियो । बि. सं.२०६२ साल जेठ २३ गते घटना भएको हो ।
घटना पछि पहिलो पटक प्रचण्ड बादरमुढे पुग्नु भएको हो । यस अघि १२ वर्षको अबधिमा घटना स्थलमा बनेको स्मारकमा प्रचण्ड जाने कार्यक्रम पटक पटक तय भएको भए पनि मिलेको थिएन ।
चितवन क्षेत्र नम्बर ३ बाट प्रचण्ड बामगठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्छ । चुनाबि प्रचारका लागि माडीको बाँदरझुला जाने क्रममा दाहाल बाँदरमुढे हुदै जानु भएको हो । आज दिउँसो बाँदरझुलामा घरदैलो र चुनाबि सभा हुदै छ । दाहाल सोमबार दिनभर पनि चुनाबि कार्यक्रम अन्तर्गत माडीमा रहने कार्यक्रम रहेको छ । चितवन राष्ट्रिय निकुञ्ज पार गरेर माडी जानु पर्ने हुन्छ । कडा सुरक्षाका साथ प्रचण्ड माडी हुदै बाँदरझुला पुग्नु भएको हो । समय मिलेमा आज दिउँसो ठोरीको सुर्वणपुर सम्म जाने कार्यक्रम रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस