व्यक्तिको नाममा दर्ता १२२ बिगाहा जमिन सरकारको नाममा फिर्ता

पत्रपत्रिकाबाट

मंगलबार, ०२ मंसिर २०७७, ०७ : ५५
व्यक्तिको नाममा दर्ता १२२ बिगाहा जमिन सरकारको नाममा फिर्ता

काठमाडौं । केही व्यक्तिले अवैध रुपमा बनको जमिन आफ्नो नाममा लगेकामा लामो प्रयासपछि फिर्ता भएको छ। रौतहटको राष्ट्रिय वनको सयौँ बिगाहा जमिन दर्जनौँ व्यक्तिको नामबाट फेरि सरकारको नाममा फिर्ता भएको छ। रौतहटको गुजरा नगरपालिकास्थित राष्ट्रिय वनको जमिन हड्पेर २६ जनाले आफ्नो नाममा गराउन सफल १२२ बिगाहा जमिन पुनः सरकारको नाममा फिर्ता भएको हो।

साबिकको रंगपुर गाउँ विकास समिति नजिकको राष्ट्रिय वन क्षेत्रको जमिन सर्लाही, ओखलढुंगा, काठमाडौँ, रामेछाप, सिन्धुली, सोलुखुम्बु तथा सिन्धुपाल्चोकसमेतका जिललका विभिन्न २६ जनाको नाममा तत्कालीन नापी कार्यालयले जग्गाधनी स्रेस्ता कायम गरेको थियो। राष्ट्रिय वनको धेरै ठूलो क्षेत्र व्यक्तिको नाममा गएको भन्ने हल्ला चलेको भए पनि तत्काल कुनै ठोस कारबाही हुन सकेको थिएन। पछिल्लो समयमा नापी विभागको आदेश भएपछि मालपोत कार्यालयको स्वीकृतिमा व्यक्तिको नाममा गइसकेको जमिन सरकारको नाममा आउन सफल भएको हो।

मालपोत कार्यालय चन्द्रनिगाहपुर, डिभिजन वन कार्यालय रौतहट तथा जिल्ला प्रशासन कार्यालय रौतहटको संयुक्त बैठकबाट पहिले राष्ट्रिय वनको र पछि व्यक्तिको नाममा दर्ता हुन गएको १२२ बिगाहा जमिन पुनः सरकारकै नाममा फिर्ता ल्याउने निर्णय गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराएका छन्।

केही व्यक्तिले तत्कालीन प्रक्रिया पुर्याएर हड्पिइसकेको राष्ट्रिय वनको जमिन पुनः सरकारीकरण भएपछि स्थानीयले खुसी प्रकट गरेका छन्। सरकारी जमिन पुनः सरकारको नाममा आएको भनी खुसी व्यक्त गर्दै कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहाले सरकारको जमिन व्यक्तिको नाममा गराउन भूमिका खेल्नेमाथि छानबिन तथा कारबाही हुनुपर्ने माग गरेका छन्। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस