प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेपछि नेकपा पार्टीभित्र खैलाबैला

सफल खबर संवाददाता

शनिबार, २९ कार्तिक २०७७, १८ : १७
प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेपछि नेकपा पार्टीभित्र खैलाबैला

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेपछि सत्तारुढ दल नेकपाभित्र खैलाबैला मच्चिएको छ । प्रधानमन्त्री ओली केहीबेर अघिमात्र शितल निवास पुगेका हुन् । 

शनिबार दिउँसो प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुसँग बालुवाटारमा छलफल गरी शितल निवास पुगेका हुन् । सत्तारुढ दल नेकपाभित्रको विवाद झन् उत्कर्षमा पुगिरहेको बेला अकस्मात प्रधानमन्त्री ओली शितल निवास पुग्नुलाई महत्वका साथ हेरिएको छ।

शुक्रबारको सचिवालय बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओली समक्ष प्रस्ताव पेस गरेपछि उनीनिकट नेताहरुले त्यसलाई फिर्ता गर्न जोड दिएका छन् । 

नेकपाका उपाध्यक्ष बामदेव गौतमले प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव सचिवालयका बहुमत सदस्यले बनाएको र प्रचण्ड एक्लैको प्रस्ताव होइन भनेपछि ओलीनिकट नेताहरु यतिबेला मौन बसेका छन् । 

आज कुकुर तिहार र लक्ष्मीपूजाको दिन शीतल निवासमा औपचारिक कार्यक्रम केही पनि छैन । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल इतरका केही नेता भने शितल निवास गइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस