प्रधानमन्त्री ओलीको ट्वीटर दुरुपयोग, सल्लाहकार सूर्य थापाले गरेको आशंका

सफल खबर संवाददाता

मंगलबार, २५ कार्तिक २०७७, १८ : ४७
प्रधानमन्त्री ओलीको ट्वीटर दुरुपयोग, सल्लाहकार सूर्य थापाले गरेको आशंका

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्याण्डल फेरि दुरुपयोग भएको पाइएको छ । 

‘केपी शर्मा ओली’ नामको ट्वीटर ह्याण्डलबाट मंगबलार असम्बन्धित ट्वीट भएको हो । 

सो ट्वीट प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गरेको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्रीको ट्वीटरमा असम्बन्धित विषयको ट्वीट भएको भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाइएपछि एकाएक ट्वीट हटाइएको छ ।

पत्रकार मात्रिका पौडेलले नयाँ व्यवसाय गर्न लागेकोमा ओलीको ट्वीटमार्फत शुभकामना दिइएको छ । यस्तै दुबै कोरोना संक्रमित भएको र संक्रमणमुक्त भएपछिको भेटमा ती पत्रकारले खुसी हुने योजना सुनाउँदा दुबै जना दंग भएको उल्लेख गरिएको छ । जवकी ट्वीटसहितको फोटोमा भने पत्रकार पौडेल र थापाको फोटो रहेको छ । 

कसरी प्रधानमन्त्रीको ट्वीटर ह्याण्डलबाट असम्बन्धित ट्वीट हुन पुग्यो भनेर सल्लाहकार थापालाई सम्पर्क गर्दा सम्पर्कमा आएनन् । 

यद्यपी सोही व्यहोराको ट्वीट आफ्नो ट्वीटर ह्याण्डलबाट पनि गरेका छन् । 

यसो त केही पहिले प्रधानमन्त्रीको ट्वीटर ‘पीएम नेपाल’ को समेत दुरुपयोग भएको थियो ।