कोरोनाले मादलको व्यापार चौपट

सफल खबर संवाददाता

आइतबार, २३ कार्तिक २०७७, १४ : २८
कोरोनाले मादलको व्यापार चौपट

फाइल फोटो

काठमाडौँ । कोरोना संक्रमणको जोखिम नभएको भए यतिबेला तिहारको चहलपहल हुन्थ्यो । साथीभाई जमघट भएर यतिबेला देउसीभैलो खेल्ने तयारीमा हुन्थ्ये । तर यो वर्ष अवस्था फरक छ । कोरोना संक्रमणको जोखिमले अहिले समूहमा खेल्ने, बस्ने अवस्था छैन । 

तिहारको समयमा देउसीभैलो खेल्ने अवस्था नभएपछि मादल व्यवसाय चौपट बनेको छ । कोरोना संक्रमणको जोखिमका कारण यो वर्ष तिहारमा गाउँका टोलटोलमा मादल बजाएर देउँसी, भैलो खेल्ने अवस्था छैन । जसको असर मादल व्यवसायमा पनि परेको छ । 

पोहोर वर्षहरुमा तिहारको बेला भ्याइनभ्याइ हुने मादल व्यवसायीहरु व्यापार नै शुन्य भएपछि अहिले फुर्सदमा छन् । त्यसो त अहिले ठूला चाडपर्व, स्थानीय मेलापर्वमा मादल बजाएर नाचगान गर्ने चलन पनि कम हुँदै गएको छ । 

बसन्तपुर क्षेत्रमा मादलको व्यवसाय गर्दै आएका व्यवसायी रिबो बहादुर कुलु गत वर्षहरुमा ७ सय बढी मादल विक्ने गरेकोमा यो वर्ष ब्यापार निकै कम भएको बताउँछन् । कोरोना संक्रमणको कारण देउसी खेल्ने अवस्था नभएकाले व्यापार नै ठप्प रहेको उनले बताए । 

बजार नभएपनि मूल्यमा भने कुनै परिवर्तन नभएको व्यवसायी रिबोबहादुर कुलुले बताए । विगत वर्षहरु जस्तै १३ सय रुपैयाँदेखि सुरु भएर मादलको गुणस्तर अनुसार ८, १० हजारसम्मका मादल पाइने उनले बताए ।

यो वर्ष कोरोना महामारीले व्यवसाय चौपट भएको बाहाना गर्न पाइने अवस्था भएपनि प्रविधिले भने मौलिक संस्कृतिमाथि नै धावा बोलिरहेको छ । डिजिटल गीत सङ्गीतको कारणले मादल बजाउने परम्परा नै सङ्कटमा पर्न थालेको छ । केही वर्षपहिलेसम्म जोर मादल बजाएर आँगनमा देउसी खेल्ने गरेको देखिन्थ्यो तर अहिले समय पनि फेरिएको छ । मादलभन्दा गीत बजाएर देउसी खेल्ने चलनले युवापुस्ता माझ प्राथमिकता पाएको छ । जसका कारण पनि मादलको बिक्री कम हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस