स्वदेश फर्किए भारतीय सेनाध्यक्ष नरवणे, यसरी बित्यो उनको तीन दिन

सफल खबर संवाददाता

शुक्रबार, २१ कार्तिक २०७७, १८ : ४२
स्वदेश फर्किए भारतीय सेनाध्यक्ष नरवणे, यसरी बित्यो उनको तीन दिन

काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे स्वदेश फर्किएका छन् । 

प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिनपछि शुक्रबार स्वदेश फर्किएका हुन् । 

नरवणे शुक्रबार साढे ४ बजे भारतीय वायु सेनाको चार्टर्ड विमानमार्फत दिल्ली गएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रभुराम शर्माले बिदाई गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।   

भ्रममणको अन्तिम दिन शुक्रबार नरवणेले प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए । भेटका क्रममा ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत् समाधान हुने विश्वास व्यक्त गरेका छन् । शुक्रबार बिहान उनले सगरमाथाको आधार शिविर क्षेत्रमा माउन्टेन फ्लाइट गरेका थिए ।

भ्रमणको दोस्रो दिन बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यालेवी भण्डारीबाट उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको थियो ।

भ्रमणको पहिलो दिन बुधबार नरवणेले धार्मिक क्षेत्रको भ्रमण गरेका थिए । वसन्तपुरस्थित कुमारीको दर्शन गर्न गएका उनी पशुपतिनाथको मन्दिरमा समेत पुगे ।

प्रतिक्रिया दिनुहोस