घर आँगनको फूलबाट आम्दानी गर्दै गृहिणी

पत्रपत्रिकाबाट

शुक्रबार, २१ कार्तिक २०७७, ०८ : ०१
घर आँगनको फूलबाट आम्दानी गर्दै गृहिणी

काठमाडौं । तिहार (दीपावली) पर्वको पक्ष शुरु भएपछि महोत्तरीका सर्वसाधारण गृहिणीको थैलीमा अतिरिक्त आम्दानी हुन थालेको छ। आफ्नै घर आँगन वरपरको डिलमा शोभाका लागि लगाइएको फूलबाटै केही आम्दानी हुन थालेपछि यहाँका सर्वसाधारण गृहिणीको थैलीमा नसोचेको अतिरिक्त आम्दानी पर्न थालेको हो।  

तिहारअघि फूल खोज्दै बस्तीरबस्ती पस्ने व्यापारीले घर आँगनकै फूललाई राम्रो मूल्य दिन थालेपछि थैलीमा हम्मेसी पैसा नपर्ने गृहिणीमा खुशी थपिएको छ ।‘यसको पनि पैसा पाइन्छ भनेर त सोचेकै थिइनँ’, आफ्नै घरआँगनका डिलमा ढकमक्क देखिने सयपत्री र मखमली फूल देखाउँँदै बर्दिबास नगरपालिका–२ की गृहिणी वृन्दा अधिकारीले भनिन्, ‘फूल खोज्न आउनेले त बैना भनेर एकहजार पो दिएर गयो।’ वृन्दाको आँगन डिलमा सयपत्री र मखमलीसहित ५० बोटमध्ये ३० बोटको तीनहजार मोल दिने भनेर बैना समातेको उनको भनाइ छ।

यसरी घर वरपर सजावटका लागि रोपिएका फूलबाटै थैली भरिन लागेपछि यहाँका सर्वसाधारण गृहिणी व्यावसायिकरूपमै फूल खेती गर्ने  टुङ्गोमा पुगेका छन्। यसपालि तिहार शुरु हुनपूर्व नै आफ्नो घर करेसामा फुलेको फूल किन्न ग्राहक र व्यापारीको धुइरो लागेपछि अब चाहिँ फूल खेती व्यावसायिकरूपमै गर्न गृहिणीहरुको रहर जागेको हो। तिहारका बेला सोच्दै नसोचेको आम्दानी घरघरै आएका व्यापारीले दिएपछि सर्वसाधारण गृहिणी अहिले दङ्ग छन्।

‘तिहारमा फुल्ने गरी जति खेती गरे पनि हुने रे’ बर्दिबास–५ की गृहिणी फूलमाया ब्लोनले भिनिन्, ‘यो आँगनको डिलमा ४०÷५० बोट सयपत्रीका होलान्, मलाई त एक व्यापारीले चारहजार दिन्छु भनेर बैना दिएर गाएका छन्।’ आर्जनका लागि नभई शोभाका लागि लगाइएको केही बोटबाटै यति आम्दानी हुने भएपछि अब चाहिँ तिहार लक्षित फूलखेती गर्ने टुङ्गोमा पुगेको फूलमायाको भनाइ छ। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस