एजेन्सी । प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा बुधबार तीनदिने नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे बिहीबारदेखि औपचारिक कार्यक्रममा सहभागी भएका छन् । बुधबार भने उनी ऐतिहासिक तथा धार्मिक स्थलको अवलोकन भ्रमणमा सक्रिय भएका थिए ।
नरवणे बिहीबार जङ्गी अड्डामा आयोजित विभिन्न कार्यक्रमहरुमा सहभागी भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सो क्रममा बिहान सैनिक मञ्चको वीर स्मारकमा पुष्पगुच्छा चढाई वीर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका जनरल नरवणेले जङ्गी अड्डामा सम्मान गारदको निरीक्षण गरेका थिए । उक्त अवसरमा उनले यसभन्दा अघि भ्रमणमा आएका अन्य विशिष्ट सैनिक पाहुनाहरु सरह जङ्गी अड्डा प्राङ्गणमा ओखरको बिरुवा रोपेका थिए ।
तत्पश्चात् प्रधान सेनापति पूर्णचन्द्र थापा र जनरल नरवणे बीच शिष्टाचार भेटवार्ता भएको थियो । उक्त भेटवार्ताका क्रममा नेपाली सेनाका प्रधान सेनापति र मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको थियो ।
उक्त छलफलपछि भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाहरुका बारेमा प्रस्तुतिकरण गरीएको थियो ।
भेटघाट पश्चात् जङ्गी अड्डामै आयोजित अर्को कार्यक्रममा, नरवणेले दुइ वटा फिल्ड अस्पताल स्थापनाको लागि सेनालाई एम्बुलेन्स, उपकरणहरु तथा अन्य स्वास्थ्य सामग्रीहरुका साथै भेन्टिलेटरहरु समेत हस्तान्तरण गरेको सेनाले जनाएको छ ।
आज साँझ नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० कार्तिक २०७७, १४ : ४२
लेखकबाट थप