काठमाडौं । दैनिक १५ वटा हाराहारी शवको दाहसंस्कार हुने देवघाटधाममा दाउरा अभाव भएको छ । तीन दिनका लागि मात्रै दाउरा मौज्दात रहेकाले त्यसपछि शव जलाउन दाउरा नहुने भएको हो ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार अहिले भएका दाउराले तीन दिनलाई भन्दा पुग्दैन । उनले भने “रुखका जरा, छरिएरका टुक्राहरु सङ्कलन गर्दा मुस्किलले एक हप्तालाई पुर्याउन सकिएला ।” सरकारले सालको काठ ढुवानीमा रोक लगाएपछि दाउराको अभाव हुँदै आएको छ ।
सालको काठको अवैध ओसारपसार नियन्त्रणका लागि नेपाल सरकारले गत जेठ २८ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार देशभर सालको काठको ढुवानीमा रोक लगाएको थियो । विशेषगरी तराईका जिल्लामा सालको काठको अवैध ओसारपोसार रोक्न सरकारले काठ उक्त निर्णय गरेको थियो ।
देवघाट क्षेत्र विकास समितिले चितवन र नवलपरासी बर्दघाट सुस्तापूर्वको जिल्ला वन पैदावर आपूर्ति समितिबाट खरिद गरी सालको दाउरा ल्याउने गर्छ । यसअघि गत चैत ६ गते नवलपरासीबाट ५० चट्टा दाउरा आठ लाख ८३ हजारमा खरिद गरी १० गते ल्याउने तयारी भएकोमा सो दिन ल्याउन नसकिएको र त्यसपछि लकडाउनको कारण ल्याउन नसकिएको अध्यक्ष पौडेलले बताए । एक चट्टा दाउराले १४ वटासम्म शव जलाउन सकिन्छ ।
यसबीचमा विभिन्न पहलपछि नारायणगढ–बुटवल सडक आयोजनाले काटेको रुखका २६ चट्टा दाउरा ल्याउनका लागि भुक्तानी गरिएको भए पनि स्थानीयवासीले अवरोध गरेपछि २० चट्टा मात्रै आएको थियो । त्यो दाउरा पनि केही दिनमै सकिन लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीकी जनसम्पर्क सल्लाहकार सीता पौडेलले यस समस्याका विषयमा प्रधानमन्त्री कार्यालय र वन मन्त्रालयमा आफूले जानकारी गराएको बताए । त्यसपश्चात् २६ चट्टा दाउराका लागि पत्राचार भएको भन्दै उनले थप पहलका काम आफूले गरिरहेको बताए ।
जिल्ला वन कार्यालय नवलपरासीका प्रमुख मोहन काफ्लेले २६ चट्टामध्येको ६ चट्टा पठाउने विषयमा सहमति भएको भए पनि मन्त्रिपरिषद्को निर्णयबिना भुक्तानी लिइसकेको ५० चट्टा भने पठाउन नसकिने जानकारी दिए । समितिले चितवन र नवलपरासीबाट दाउरा ल्याउने गर्दछ । समितिका अध्यक्ष पौडेलले समितिसँग आफैमा दाउरा नहुने भएकाले अब हुने समस्याको मूलकारण सरकारको निर्णय नै हुने बताए ।
पवित्र कालीगण्डकी र त्रिशूलीको सङ्मस्थल देवघाटमा शवको दाहासंस्कारको लागि देशका धेरै ठाउँबाट ल्याउने गरिन्छ । देशकै मध्यभागमा रहेको यस धाममा दाहासंस्कार गर्दा मृतात्माले शान्ति पाउने विश्वास छ । काठमाडौंको पशुपतिपछि सबैभन्दा धेरै शव संस्कार गरिने देवघाटधाम नै हो । यहाँ शव जलाउन दाउरा बाहेक अन्य विकल्प छैन । विद्युतीय शवगृहको निर्माणको काम भइरहेको भए पनि सम्पन्न हुनसकेको छैन ।
देवघाटमा गत वर्ष तीन हजार २०० शव जलाइएको थियो । अघिल्ला वर्षमा यो सङ्ख्या बढिरहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले जानकारी दिए । उनका अनुसार एक वर्षका लागि ३०० चट्टा हाराहारी दाउरा आवश्यक पर्दछ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १२ कार्तिक २०७७, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
देवघाटका कुटी र धर्मशालामा बस्ने १०० जनाको उद्धार
चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल निर्माण थालेको १० वर्षपछि सञ्चालनमा