एजेन्सी । सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४० औं खेलमा राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ ।
दुबईमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गर्दै राजस्थानले १ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा हैदराबादले उक्त लक्ष्य १८.१ ओभरमा २ विकेट गुमाएर सफलतापूर्वक पछ्यायो ।
हैदराबादको जितमा मनिष पान्डे ४७ बलमा ४ चौका र ८ छक्का सहित ८३ रनमा अविजित रहे । विजय शंकर ५१ बलमा ६ चौका सहित ५२ रनमा अविजित रहे ।
कमजोर सुरुवात गरेपनि तेस्रो विकेटका लागि मनिष र विजयले १ सय ४० रनको अविजित साझेदारी गर्दै जित पक्का गराए । तीव्र गतिका बलर जोफ्रा आर्चरले पहिलो ओभरको चौथो बलमा डेभिड वार्नरलाई चार रनमा दोस्रो स्लिपमा बेन स्टोक्सबाट उत्कृष्ट क्याच आउट गराएका थिए ।
आर्चरलेनै तेस्रो ओभरको चौथो बलमा अर्का ओपनर जोनी बेयरस्टोलाई १० रनमा बोल्ड आउट गरे । तर अन्य बलरले विकेट लिन नसक्दा मनिष र विजयले उत्कृष्ट साझेदारी गर्दै सहज जित दिलाए । राजस्थानका आर्चरले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।
त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५४ बनाएको थियो । राजस्थानले पहिलो विकेट चौथो ओभरको तेस्रो बलमा गुमाएको थियो । नन स्ट्राइकका ओपनर रोबिन उथप्पा रन लिन क्रिजको मध्यभागसम्म दौडिएपनि बेन स्टोक्सले पूरा हुने नदेखेपछि नलिन आग्रह गर्दा फर्किने क्रममा जेसन होल्डरको डाइरेक्ट थ्रोमा १९ रनमा रन आउट हुन पुगेका थिए ।
उथप्पाले १३ बलमा २ चौका र १ छक्का प्रहार गरे । दोस्रो विकेटका लागि बेन स्टोक्स र सन्जु स्यामसनले ५६ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाउन खोजेका थिए । १२ औं ओभरको चौथो बलमा होल्डरले स्यामसनलाई ३६ रनमा बोल्ड आउट गरे । स्यामसनले २६ बलमा ३ चौका र १ छक्का प्रहार गरे । १३ औं ओभरको पहिलो बलमा स्पिनर राशिद खानले बेन स्टोक्सलाई ३० रनमा बोल्ड आउट गरेपछि हैदराबाद खेलमा फर्किएको थियो । स्टोक्सले ३२ बलमा २ चौका प्रहार गरे ।
विजय शंकरले १६ औं ओभरको तेस्रो बलमा जस बटलर ९ रनमा शहबाज नदीमबाट क्याच आउट हुन पुगे । होल्डरको १९ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका कप्तान स्टिभ स्मिथ लङअनमा मनिष पान्डेबाट १९ रनमा समातिन पुगे । स्मिथले १५ बलमा २ चौका प्रहार गरे । अर्को बलमा रियान पराग डेभिड वार्नरबाट २० रनमा क्याच आउट हुन पुगे । परागले १२ बलमा २ चौका र १ छक्का प्रहार गरे । जोफ्रा आर्चर १६ र राहुल टेवाटिया २ रनमा अविजित रहे । आर्चरले ७ बलमा १ चौका र १ छक्का प्रहार गरे ।
जारी सिजनमा पहिलो खेल खेलेका हैदराबादका अलराउन्डर जेसन होल्डरले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । राशिद खानले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए । विजय शंकरले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।
राजस्थानले अव आइतबार मुम्बई इन्डियन्ससँग खेल्ने छ । हैदराबादले शनिबार किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०७ कार्तिक २०७७, ०८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेशी खेलाडीका लागि आइपिएलले बनायो कडा नियम
आइपिएल : राजस्थान आइपिएलको दोस्रो क्वालिफायरमा
आइपिएलको प्लेअफको समीकरण पुरा
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
आइपिएल : राजस्थानमाथि पञ्जाव ५ विकेटले विजयी
आइपिएलमा आज राजस्थान र पञ्जावको भिडन्त