‘पिखुवा खोला बगेझैँ’ सार्वजनिक

शनिबार, २६ फागुन २०७४, १२ : १२

काठमाडौँ । गीतकार गंगाराज मुकारुङ र जीवन मुकारुङका गीतहरुको श्रव्यदृष्य (भिडियो एल्बम) शुक्रबार यहाँ सार्वजनिक गरिएको छ । महासेनानी पनि रहनुभएका गीतकार गंगाराजको ‘पिखुवा खोला बगेझैँ’ बोलको गीत र जीवनको ‘चियाबारीको पातैपात’ एल्बममा समेटिएका छन् ।

गंगाराजको गीतमा भोजपुरका राई जातिको संस्कृति, पिखुवा खोलाको बाइस जंँघार तरेर चतरा आइपुग्नुपर्ने विगतको बाध्यता, अरुण नदीको परिवेश आदि तथा जीवनका गीतमा इलामेली परिवेश, चियाबारी, माईपोखरी आदि विषय छन् । ती गीतमा संगीतकार वसन्त मुकारुङले संगीत दिनुभएको छ भने अशोक मुकारुङ र मुस्कान मुकारुङको स्वर छ । एल्बमा विज्ञान राई र जीवन मुकारुङले निर्देशन गर्नुभएको छ ।

गीतकार संघ नेपालको आयोजनामा भएको कार्यक्रममा साहित्यकार नवराज लम्सालले ‘इलामे शहर चियाबारी राम्रो’ बोलको गीतबाट परिचित गीतकार गंगाराजले नयाँ गीतमा भोजपुरको संस्कृति र मानवीय संवेदनालाई प्रस्तुत गर्न सफल भएको बताउनुभयो ।

संगीतकार आभाषले ती गीत ‘स्वान्त सुखायःका’ रुपमा आएका तर बजारबाट निर्देशित नभएको बताउनुभयो । गीतकार मञ्चका अध्यक्ष चूडामणि देवकोटाले ती गीतमा माटो र संस्कृति सबै मिलेको बताउनुभयो । कार्यक्रममा प्राज्ञ शशी लुमुम्बूले पनि बोल्नुभएको थियो । मुकारुङ परिवारका तीन पुस्ताले सो भिडियोमा काम गरेको तथा कान्छे पुस्ताका मुस्कान मुकारुङको स्वर पहिलो चोटि रेकर्डिङ भएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस