चितवन । देशकै मध्ये क्षेत्र चितवनमा कालिका, इच्छाकामना, राप्ती नगरपालिका, भरतपुर महानगरको उत्तरी भागको माथिल्लो भेगमा चेपाङ समुदायको बस्ती छ । उनीहरूको बसोबास वनजङ्गल नजिक, भिरालो परेको जमीन, खोलानजिक छरिएर रहेको छ । उनीहरूको पुख्र्यौली पेशा खोरिया खेती तथा शिकार हो तर, अहिले चेपाङ समुदाय बाख्रापालनमा लागेर मनग्य आम्दानी गरिरहेका छन् ।
कालिका नगरपालिका वडा नं १० का आइते चेपाङले बाख्रापालन सुरु गरेको पाँच वर्षभन्दा बढी भयो । अहिले पनि उनको घरमा करिब ५० वटा बाख्रा छन्, यसपटकको दसैँमा उनले झन्डै २० वटा खसीबोका बेच्ने उद्देश्य राखेका छन् । उनी भन्छन्, ‘एउटा खसी पाँच हजारमा विक्री गर्न सकियो भने पनि एक लाख रुपैयाँ सजिलै आम्दानी हुन्छ ।’
गत वर्ष उनले ८० हजारको खसीबोका बेचेका बताउँछन् । उनले थपे, ‘बाख्रापालनले जीवनस्तर चलाउन सहज भएको छ, मेरोमात्र होइन, बाख्रापालन गर्ने चेपाङ समुदायको जीवनस्तर नै विस्तारै माथि उठेको छ ।’ उनका अनुसार हिजोको दिनमा गिठ्ठाभ्याकुरमा भर पर्ने चेपाङ समुदाय आज बाख्रापालन गरेर आफ्नो जीवनलाई माथि उठाइरहेका छन् ।
सरकारी, गैरसरकारी संघसंस्थाहरुले चेपाङ समुदायलाई बाख्रापालनमा आकर्षण गर्ने विभिन्न कार्यक्रमहरु ल्याएपछि चेपाङ परिवारहरु बाख्रापालनतर्फ लागेको हुन् । चितवनका स्थानीय तहहरुले पनि बाख्रापालनमा लागेका चेपाङ समुदायहरुलाई अनुदानहरु उपलव्ध गराएका छन् । कालिका नगर प्रमुख खुमनारायण श्रेष्ठ, इच्छाकामना गाउँपालिका प्रमुख गीताकुमारी गुरुङ, राप्ती नगर प्रमुख प्रभा बरालले चेपाङ परिवारको जीवनस्तर उकास्न बाख्रापालनमा विशेष जोड दिएर विभिन्न अनुदानका कार्यक्रमहरु ल्याइएको बताए ।
कालिका नगरपालिका वडा नं १० मा रहेको उद्यमी महिला सहकारी संस्थाका सल्लाहकार महेन्द्रबहादुर प्रजाले कालिकामा रहेका चेपाङ समुदायले उत्पादन गरेको सबै बाख्रा खरिद गर्दै आएको बताउँछन् । उनी भन्छन्, ‘बाख्राको बजारको कुनै समस्या छैन, व्यवसायीहरु घरघरै आएर पनि बाख्रा उठाउँछन्, व्यवसायी नआए चेपाङहरुले सहकारीमा लगेर बाख्रा बेच्छन् । सहकारीले बाख्रा पोखरा, काठमाडौँ र भरतपुरको बजारहरुमा पठाउँछ ।
महेन्द्रबहादुर प्रजाले कालिकामा बाख्रापालन नगर्ने चेपाङको कुनै घर नै नभएको दाबी गरे । उनले भने, ‘आठ÷दस वटा बाख्रा त सबै चेपाङको घरमा छ, दसैँको बेलामा एउटा चेपाङ परिवारले खसीबोका बेचेर २० हजार कमाउनुलाई सामान्य मानिन्छ ।’ दसैँको बेलामा एउटा चेपाङ परिवारले खसीबोका बेचेर पाँच लाखसम्म कमाएको उनी बताउँछन् । ‘दसैँको बेलामा एक डेढ लाख त प्रायःले कमाइरहेका छन्, बढी कमाउनेले ३ देखि ५ लाखसम्म कमाउँछन’ उनले भने, ‘वर्षभरिको खर्च दसैँमा खसीबोका बेचर कमाउँछन् ।’ उद्यमी महिला सहकारीले बाख्रापालनको लागि किसानलाई ऋणसमेत दिँदै आएको छ ।
चेपाङ संघ चितवनका अध्यक्ष भीम चेपाङले कालिका, राप्ती, इच्छाकामना र भरतपुरको उत्तरी क्षेत्रमा बसोबास गर्ने चेपाङहरु बाख्रापालनमा आकर्षण भएको बताए । उनले भने, ‘चितवनमा चेपाङ समुदायका करिब ७०० घरघुरी छन्, त्यसमा ४० प्रतिशत अर्थात् २८० परिवारले व्यावसायिक रुपमा बाख्रापालन गरेका छन् ।’ उनीहरुको प्रमुख आम्दानीको स्रोत नै बाख्रापालन रहेको उनी बताउँछन् । उनले पनि इच्छाकामना र कालिकाका बाख्रापालनमा लागेका चेपाङ किसानहरुले दुई लाखदेखि पाँच लाखसम्म आम्दानी गरेका बताए ।
उनले भने, ‘दसैँमा कत्ति नभएको चेपाङको घरमा पनि १५-२० वटा बाख्रा हुन्छन्, बाख्रा बेचेर चेपाङहरु घरघडेरी त जोड्न सकेका छैनन्, तर उनीहरुलाई आफ्नो गुजारा चलाउन सहज भएको छ, बालबच्चा पढाउन सकेका छन्, खानलाउन पुगेको छ ।’ आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ५९ जनजातिमध्ये चेपाङ एक हो । २०६८ को जनगणना अनुसार नेपालमा चेपाङहरूको जनसंख्या ६८,३९९ रहेको छ । पछिल्लो समय डेढ लाखभन्दा बढी चेपाङको जनसंख्या पुगेको अनुमान गरिएको छ । यिनीहरू मकवानपुर, धादिङ, चितवन, गोरखा, लमजुङ र तनहुँ जिल्लाहरूमा छरिएका बसेका पाइन्छन् ।
चेपाङहरूको जीवन वनजङ्गल र जमिनसँग अति नजिकसँग जोडिएको छ । घरहरू सामान्यतया एकतले ढुङ्गा र माटोले बनेको र खरले छाएको हुन्छन् । पछिल्लो समय स्थानीय तहले जस्ता वितरण गर्न थालेपछि खरले छाएको चेपाङको घर पनि क्रमशः कम हुँदै गएको छ । कतिपय चेपाङहरूको घर भने काठ तथा सेउलाले बेरेर बनाइएको पनि पाइन्छ । उनीहरूको पुख्र्यौली पेशा खोरिया खेती तथा शिकार नै हो । विपन्न चेपाङ परिवार हाल आएर आधुनिक जीविकोपार्जनका माध्यमहरू कृषि, तरकारी खेतीतर्फ लागेका छन् ।
विभिन्न संघसंस्थाको सहयोगमा पछिल्लो समय चितवनका चेपाङहरु बाख्रापालनतर्फ आकर्षित भइरहेका छन् । विगत पाँच, सात वर्षदेखि चितवनको कालिका नगरपालिका, राप्ती नगरपालिका, इच्छाकामना गाउँपालिकाका चेपाङ समुदाय बाख्रापालनमा लागेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ असोज २०७७, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चेपाङ विद्यार्थीलाई अध्ययन खर्च
छात्रावासले चेपाङ बालबालिकाको पढाइमा सुधार
चेपाङ गाउँमा कृषि एम्बुलेन्सले ल्याएको परिवर्तन
चेपाङ समुदायलाई निःशुल्क औषधि वितरण
चिउरी र चमेरो संरक्षण गर्दै बागमती प्रदेश
दिवा खाजा कार्यक्रम रोकिँदा चेपाङ समुदायका बालबालिका समस्यामा