मुख्य मन्त्री गुरुङद्वारा विश्वासको मत प्राप्त

शुक्रबार, २५ फागुन २०७४, १८ : २१
मुख्य मन्त्री गुरुङद्वारा विश्वासको मत प्राप्त

 

पोखरा । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मतका लागि गर्नुभएको प्रस्तावमा ४१ जनाले उहाँको पक्षमा मतदान गर्नुभयो भने १७ जनाले विपक्षमा मतदान गर्नुभएको थियो ।

साठी सदस्य रहेको प्रदेशसभामा बहुमतका लागि ३१ मत प्राप्त गर्नुपर्नेमा यस प्रदेशमा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेको २७ र माओवादीको १२ सदस्य रहेकोमा राष्ट्रिय जनमोर्चाका तीन जनाले पनि आज उहाँको पक्षमा मतदान गर्नुभएको थियो ।

विश्वासको मतको विपक्षमा नेपाली काँग्रेसको १५ र नयाँ शक्तिका दुई जनाले मतदान गर्नुभयो । मतदानमा सभामुख नेत्रनाथ अधिकारी सहभागी हुनुभएन भने मनाङका स्वतन्त्र तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङले हालसम्म शपथ लिनुभएको छैन ।

आजको बैठकमा प्रदेशसभा नियमावली २०७४ लाई पारित गरियोस् भनी प्रदेशसभा सदस्य प्रभा कोइरालाले गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गरेको थियो । अर्को बैठक फागुन २७ गते दिनको ११.०० बजे बस्नेछ ।(रासस)

प्रतिक्रिया दिनुहोस