डोटी । जिल्ला प्रशासन कार्यालय डोटीमा हिजोआज सेवाग्राहीको थेगिनसक्नु भीड लाग्ने गरेको छ । प्रशासन कार्यालयमा यहाँका ग्रामीण क्षेत्रबाट दैनिक २०० जनासम्म सेवाग्राही आउने गरेका छन् । सेवाग्राहीको भीड बढेपछि कोरोना जोखिम बढ्नसक्ने भन्दै कार्यालयका कर्मचारीमा चिन्ता थपिन थालेको छ ।
पछिल्ले समय कार्यालयमा मास्क नलगाएर आउने सेवाग्राहीलाई सुरक्षाकर्मीले कार्यालय प्रवेश नै नदिएर फिर्ता पठाउने र मास्क लगाएर आउन आग्रह गरिन थालिएको छ । बाढीपहिरोपीडित भएकाका नागरिकका लागि राहत, नागरिकता, राष्ट्रिय परिचयपत्रलगायतका सेवा लिन आउने नागरिकका कारण प्रशासन कार्यालयमा निकै भीड बढ्न थालेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए । प्रशासनमा दैनिक २०० हाराहारीमा सेवाग्राही आउने गरेका छन् ।
सेवा लिन आउने सेवाग्राहीमा सबैभन्दा बढी नागरिकता बनाउन आउनेको भीड लाग्ने गरेको कार्यालयले जनाएको छ । कोरना भाइरसका कारण घरमा आएका र एसइई परीक्षामा उत्तीर्ण भएका १६ वर्ष पुगेका यहाँका नागरिकको नागरिकता बनाउनका लागि कार्यालयमा भीड लाग्न थालेको शाखा अधिकृत शिवकुमार राईले बताए । उनले भने, “पछिल्लो केही दिनयतादेखि सेवाग्राहीको थेगिनसक्नु भीड लाग्ने गरेको छ, सबैभन्दा बढी नागरिकता लिनेछन् ।” उनका अनुसार अहिले दैनिक कम्तीमा पनि ९० देखि १०० जनाले कार्यालयबाट नागरिकता लिँदै आएका छन् ।
दिपायलमा रहेको सेती प्राविधिक शिक्षालयसहित यहाँका अन्य सरकारी विद्यालयमा विभिन्न प्राविधिक विषयमा पढाइ गर्नका लागि आवेदन खुलेपछि त्यहाँ पढ्नका लागि पनि एसइई पास भएका विद्यार्थी बढी नागरिकता बनाउनका लागि आउने गरेको नागरिकता कर्मचारी गौतम रोकायाले बताए ।
यसैगरी लामो समयदेखि कामका लागि भारत गएका नागरिक पनि कोरोना महामारीका कारण अहिले आफ्नो घर आएर बसेका कारण फुर्सद भएकाले यो समयमा नागरिकताका लागि कार्यालय आउने गरेको पाइएको छ । दैनिकजसो नागरिकता लिने सेवाग्राहीको भीड बढेका कारण कतिपयले त नागरिकताका लागि पालो कुर्नुपर्ने र दुई दिनमा पालो आउने गरेको बोगटान फुड्सिल गाउँपालिका–४ बाट अएका सेवाग्राही हिक्मतबहादुर लुहारले बताए । उनले भने, “एक दिनको पैदल हिँडेर नागरिकता बनाउन आयौँ, यहाँ त भीड रहेछ, कागजपत्र सुधार गर्दैमा दिन बित्न रहेछ हैरानी भइयो ।”
सेवाग्राहीलाई कानूनी प्रक्रिया पूरा गरी एकै दिनमा नागरिकता दिने कार्यालयले जनाएको छ । अधिकृत राईले भने, “नागरिकता दिनका लागि पनि विभिन्न नियम छन्, सबै प्रक्रिया हेर्ने हो भने खासै कसैको मिलेको हुँदैन तैपनि हामीले कानूनसम्मत मिल्ने काम गरेकै छौँ ।” कानूनमा नागरिकता लिन आउँदा पारिवारिक पहिचानसमेत खुलेको हुनुपर्ने भएकाले सो प्रक्रिया पूरा नभएकालाई प्रक्रिया पूरा गरेर नागरिकता बनाउन आउन सुझाव दिने गरेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १९ असोज २०७७, १० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोटीमा जिप दुर्घटना : दुईजनाको मृत्यु, सात घाइते
डोटीमा भालुको आक्रमणबाट एक महिला घाइते