सिजन मिडियाले आगामी मंसिरमा नेशनल सोसल वयलफेयर अवार्ड २०२० आयोजना गर्दै

सफल खबर संवाददाता

शनिबार, १७ असोज २०७७, १५ : ५६
सिजन मिडियाले आगामी मंसिरमा नेशनल सोसल वयलफेयर अवार्ड २०२० आयोजना गर्दै

काठमाडौं । लामो समयदेखि सामाजिक क्षेत्रमा अग्रणी संस्थाको रुपमा काम गर्दै आएको सिजन मिडियाले  ‘नेशनल सोसल वयलफेयर अवार्ड २०२०’ नामक सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ ।

मिडिया स्थापना भएको अवसर पारेर आगामी २०७७ साल मंसिरमा काठमाडौंमा ‘नेशनल सोसल वयलफेयर अवार्ड २०२०’ नामक सम्मान कार्यक्रम आयोजना गर्न लागेको सो सिजन मिडियाका अध्यक्ष प्रदिवराज वन्तले जानकारी दिए ।

वन्तका अनुसार उक्त कार्यक्रममा नेपाल तथा विदेशमा रहेर विभिन्न क्षेत्रहरुमा रहेर नेपाल र नेपालीको दुख सुखमा साथ तथा हौसला प्रदान गर्ने विभिन्न संघ संस्था तथा समाजिक व्यक्तित्वहरुलाई  सम्मान गरिने छ । विशेष गरी कोभिड १९ को विषम अवस्थामा दिनरात नभनी विभिन्न क्षेत्रमा अग्रपंक्तिमा खटेका व्यक्ति तथा संस्थालाई यस पटक विशेष सम्मान गर्न लागिएको वन्तको भनाइ छ ।

वन्तले एक विज्ञप्ति जारी गर्दे भनेका छन्, ‘विपदको समयमा सानो भन्दा सानो सहयोगले पनि ठूलो समुदायको जीवनरक्षा गर्न बल पुगेको हुन्छ । सामाजिक क्षेत्रमा उनीहरुले दिएको योगदानको शब्दमा समेत उतार्न असम्भव नै हुन्छ । समाजका ती विशेष व्यक्तिलाई यस पटक संस्थाले सम्मान गरी उनीहरुको काम गर्ने सोच र सामाजिक दायित्वलाई बढावा दिन लागिएको छ ।
यस्तै सामाजिक क्षेत्रमा लामो समयदेखि क्रियाशिल अन्य व्यक्तित्व तथा संस्थालाई समेत हामी यस पटक सम्मानको सानो सगुन प्रदान गर्न गइरहेका छौ ।’ 

अध्यक्ष वन्तले सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको जानकारी दिए । ‘सबै नागरिकमा सामाजिक भावना जागृत गर्न अवार्ड कार्यक्रम गर्दैछौं’ वन्तले भने, ‘यसले नयाँ पुस्तालाई पनि प्रेरणा दिनेछ ।’ 

उनले सम्मानका लागि संस्थाले विभिन्न मापदण्ड बनाएको र त्यसका आधारमा छनौट भएका व्यक्तित्वलाई विशेष कार्यक्रमको आयोजना गरी सम्मानित गरिने बताए । 

‘सधैं जस्तै साथ र सहयोग प्रदान गर्दै आउनु भएका समाजिक व्यक्तित्व तथा हाम्रा मार्गदर्शकलाई पुनः हामी नमन गर्दै यस कार्यमा यहाँहरुको साथ र सहयोग रहने समेत विश्वास व्यक्त गर्दछौं । सकारात्म्क सोच राखौं, सामाजिक दायित्व पूरा गरौं र राम्रा काम गर्नेलाई प्रेरणा र हौसला प्रदान गरौं ।’ वन्तद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

केही समय अघि मात्रै आफ्नो स्थापनाको  ११ वर्ष पूरा गरेको यस मिडियाले सामाजिक क्षेत्रमा क्रियाशिल विभिन्न व्यक्तित्व र संस्थालाई बेला बेलामा सम्मान गर्दै उनीहरुको कामलाई अझै हौसला प्रदान गर्दै आएको छ ।  

प्रतिक्रिया दिनुहोस