काठमाडौँ । भोकालाई खाना खुवाउनुभन्दा ठूलो धर्म के होला ? त्यसमाथि कुखुराको मासु र अण्डाको तरकारीसहित । काठमाडौंका तीनजना युवाले दैनिक करिब दुई सयजना भोका नागरिकलाई दिनहुँ खाना खुवाइरहेका छन् ।
गौशालाको सिफलचौरमा बिहान नौ बजेतिर खाना खान आउनेहरु जम्मा हुन्छन् । नाममात्रको चौरमा धुलैधुलोमाथि चप्पल वा रुमाल ओछ्याउँछन् । खानाको प्रतीक्षा गर्छन् । एकछिनमा खाना खुवाउने कार्यक्रम सुरु हुन्छ । ११ दिन भयो यसरी बिहानको छाक खाना खुवाउन थालिएको ।
भोकालाई खाना खुवाउने काममा खटिन्छन् पानु पौडेल, राकेश रावल र सुरेश मल्ल । उनीहरुले पहिले व्यक्तिगत खर्चमा उनीहरुलाई खाना खुवाइरहेका थिए । अहिले केही सहयोग पनि प्राप्त भएपछि उनीहरुलाई केही सजिलो भएको छ ।
‘हामीले प्रत्येक दिन बिहान ९ बजेतिर १८० देखि २ सय जनासम्मलाई खाना खुवाइरहेका छौं’ पौडेलले भने, ‘लकडाउनका कारण अप्ठेरोमा परेका व्यक्तिहरुलाई सहयोग गर्नु हाम्रो पनि दायित्व सम्झेर यो काम सुरु गरेका हौँ । अहिले ११ दिन भइसकेको छ ।’
उनका अनुसार हप्तामा एकदिन चिकन खाना, एकदिन अण्डा करी र बाँकी दिन सादा खाना खुवाइएको छ । ‘हामीले एउटा पार्टी प्यालेसलाई भनेका छौं’ उनले भने, ‘उनीहरुले खाना उपलब्ध गराइदिन्छन् । हामी खानाको खर्च तिर्छौं ।’
आफूहरुले व्यक्तिगतरुपमा नै सहयोग गर्न सुरु गरेको भए पनि पछि सहयोगी हातहरु पनि आएकाले खाना खुवाउने कार्यक्रमलाई निरन्तरता दिइएको रावल र मल्लले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ असोज २०७७, १४ : ३०
लेखकबाट थप