​‘पञ्चायत’ को च्यारिटी शोमा उर्लिए दर्शक

विहीबार, २४ फागुन २०७४, १५ : ०४
​‘पञ्चायत’ को च्यारिटी शोमा उर्लिए दर्शक

मकवानपुर । विदेशमा समेत अवार्ड जितिसकेको नेपाली कथानक चलचित्र ‘पञ्चायत’ को च्यारिटी शो हेर्न हेटौँडाका दर्शकहरु ओम्याक्स हलमा उर्लिएका छन् । मकवानपुर जागरण अभियानले सामाजिक कार्यमा सहयोग गर्ने उदेश्य सहित चलचित्रको च्यारिटी शो गरेको हो ।

हेटौँडा मुभि मेकर र कलावती फिल्म्सको प्रस्तुति रहेको चलचित्र ‘पञ्चायत’ को च्यारिटी शोमा चलचित्रका कलाकारहरु सरोज खनाल, निता ढुङ्गाना, जाहन्वी बस्नेत लगायतसँग दर्शकले चलचित्र हेरेका थिए । चलचित्रको औपचारिक प्रदर्शन भने चैत्र २ गतेबाट हुँदैछ ।

किन हेर्ने ‘पञ्चायत’ ?
चलचित्र पञ्चायतले वि.सं. २०३१ सालतिरको कथा बोकेको छ । त्यस बेलाका सामाजिक मान्यता र पञ्चायती व्यवस्थाका आधारमा मात्र नभइ कर्मले समेत गाउँका भगवान सरहका मान्छे बनेका ‘ठुल बा’ (सरोज खनाल) र गाउँकी सोझी किशोरी (नीता ढुङ्गाना) को वरिपरि कथा घुमेको छ । यी दुई पात्रसँगै जोडिएकी सिता (जाहन्वी बस्नेत) सहितको कलाकारहरुको उपकथामा यो चलचित्रको प्लट कोरिएको छ ।

चलचित्र हेरुन्जेल दर्शकहरुले अब कथाले के मोड लेला भन्ने सोचेरै उत्साहित भइरहन्छन् । चलचित्रका दृश्य घुमेसँगै उनीहरु कहिले खुशी हुन्छन् त कहिले भक्कानिन्छन् । चलचित्रको अर्को पाटो यसको थिम हो । एक किशोरीको शारिरीक परिवर्तनमा आएसँगै सुरु हुने मनोवैज्ञानिक परिवर्तनको कथा नै चलचित्रको मुख्य थिम हो । एकै छिनको यौन आवेगले कस्तो स्थिति सिर्जना गर्छ भन्ने कथासँगै चलचित्र बग्दै जान्छ र अन्तमा अकाल्पनिक क्लाईमेक्समा गएर टुङ्गिन्छ ।

कलियुगमा सिताले अग्नि परिक्षा दिएको कथा अनि प्रथम रजश्वलामा २२ दिन गोठमा बसेकी किशोरीको मनोदशालाई चलचित्रले वास्तविक तवरले बोलेको छ । हाम्रो गाउँघरको त्यो बेलाको वास्तविक अवस्था र अहिलेसमेत गाउँघरमा प्रचलनमा रहेका सामाजिक रितीका बारेमा चलचित्रले बोल्छ ।

चलचित्रको कथामा खोट लाउने ठाउँ खासै छैन भन्दा फरक पर्दैन । कलाकारहरुको अभिनयको तारिफ नगरीरहन सकिन्न । नायिका नीता ढुङ्गाना र नायक सरोज खनाल सहितको सम्पूर्ण कलाकारहरुको अभिनयले दर्शकलाई हलमा बाँधेर राख्छ । नव नायिका जाहन्वीको अभिनयलाई दर्शकले भुल्दैनन् तर उनको भूमिका थोरै मात्र छ ।

एउटा चर्चित अनि कारुणिक गीत पनि चलचित्रमा समावेश छ । चलचित्र गहकिला भाषा र संवादले भरिएको छ । ‘मुन्छेको एउटा मात्र जात हुन्छ त्यो मुन्छे हो’, ‘बाँसमा चढ्ने बेला कलिली केटी माथि चढ्नुभएछ’,  केटीहरुको शरिमा कुन्नी के कुरा हुन्छ रे नि त्यसलाई हेर्न केटाहरु ज्यानै दिन तयार हुन्छन् रे’, ‘छोरीलाई पढ्न पठाउँदा नाकै काटिने भए त्यस्तो नाकको के काम, ’ सीता कहिले अछुत हुन्न’ र कलियुगमा रामले पनि अग्नि परिक्षा दिनुपर्छ ’ लगायतका संवादले दर्शकलाई उर्जा दिन्छ । नायिका नीता र जाहन्वीको पिडासँग कयौँ नारीहरुले आफ्नै पिडालाई दाँज्न बाध्य हुन्छन् । त्यसैले यो चलचित्र सबैले हेर्नुपर्ने चलचित्र बनेको छ ।

चलचित्रमा सरोज खनाल, नीता ढुङ्गाना, जान्हवी बस्नेत, रुपा राना, विशाल पहरी, गीता अधिकारी, किरण थापा लगायले अभिनय गरेका छन् । चलचित्रमा शिवम अधिकारीको कथा र निर्देशन रहेको छ ।

के भन्छन् कलाकार र दर्शक  ?
चलचित्रको शो हुनुपूर्व नै ओम्याक्समै भएको पत्रकार सम्मेलनमा कलाकारहरुले चलचित्रबाट निकै आशावादी रहेको बताए । चलचित्र शुद्ध अर्गानिक भएको उनीहरुले दाबी गरे । चलचित्रकी नायिका जाहन्वी बस्नेतले आफुले चलचित्रबाट दर्शकहरुको मायाको अपेक्षा गरेको बताईन् । साथै टिमसँग काम गर्न पाउँदा खुशी भएको बताउँदै चलचित्र मन परेमा सबैमाझ हेर्न सन्देश पुराइदिन पनि आग्रह गरिन् ।

चलचित्रका नायक सरोज खनालले राजनीतिक कथा पनि समेट्ने चलचित्रले नारीका पीडाहरु समेटेको भन्दै मन परेका र नपरेका दुबै कुरालाई सल्लाह सुझावका रुपमा राखिदिनका लागि अनुरोध गरे ।  त्यस्तै नायिका नीता ढुङ्गानाले नारी दिवसको शुभकामना दिँदै १४ वर्षीय किशोरीको भूमिका निभाउँदाका पलहरु सुनाईन् ।

आफ्नो मसान र यो चलचित्रबाट आफु निकै सन्तुष्ट रहेको बताउँदै अग्रज कलाकार सरोज खनालसँग सँगै काम गर्न पाउँदा खुशी लागेको पनि बताईन् । मनोरञ्जनका लागि मात्र तयार पारिएको चलचित्रलाई दर्शकले हेरिदिएको भन्दै वास्तविक कथा वस्तुमा बनेको चलचित्रलाई दर्शकको माया अलि नपुगेको दुखेसो पोखिन् ।

चलचित्रका निर्माता र वितरक समेत रहेका नरेन्द्र महर्जनले चलचित्र नारी प्रधान भएकोले नारीहरुको सहभागीता भएमा चलचित्रले नयाँ उचाई चुम्ने बताए । मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोईरालाले सामाजिक अभियान गर्दै आएको संस्थाले सामाजिक सहयोगकै लागि यो चलचित्रको च्यारिटी शो आयोजना गरिएको बताए ।
चलचित्र हेरेपछि अधिकांश दर्शकहरुले चलचित्र मन पराएको प्रतिकृया दिएका छन् । कथा र पात्रको अभिनय निकै बलियो भएको समेत दर्शकहरुले बताए । केही दर्शकहरुले चलचित्र हेर्दा धेरै पटक रोएको समेत बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस