मोफसल प्रचार प्रसारमा ‘पंचायत’ युनिट(भिडियो)

बुधबार, २३ फागुन २०७४, १९ : २८

चितवन : शिवम् अधिकारी निर्देशित चलचित्र ‘पंचायत’ को टोली यतिबेला प्रचार–प्रसारका लागि देश दौडाहामा निस्किएको छ । यसै क्रममा आज (बुधबार) चितवनको नारायणगढमा पत्रकार सम्मेलन गरि चलचत्रि बारे जानकारी दिएको छ । पत्रकार सम्मेलनमा निर्देशक शिवम् अधिकारीसगै ,नायक सरोज खनाल, अभिनेत्री नीता ढुङगना , जाहान्वी बस्नेत तथा निर्माता गणेश गिरी , रवि अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
पंचायती शासन व्यवस्थाका बेला एउटा गाउँको सामाजिक विषय र न्याय प्रणालीलाई आधार बनाएर निर्माण गरिएको ‘पंचायत’ मौलिक र अर्गा्निक फिल्म भएको निर्माण पक्षले जनाएको छ । नेपालको इतिहास झल्काउने चलचित्र बनेकोले दर्शकको माया पाउने निर्माण पक्षको विश्वास छ ।


पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका मूख्य कलाकार नायक सरोज खनालले वर्षौ–वर्षसम्म अर्काईभ (अभिलेख) गरेर राख्ने खालको चलचित्र निर्माण भएको भन्दै चलचित्र हेरिदिन दर्शकहरुलाइ अनुरोध गर्नुभयो ।
“चलचित्र ‘प्रेमपिण्ड’ मन पराउने दर्शकले पंचायत झन् हेर्नुपर्छ” नायक खनालले भन्नुभयो “एउटा कालखण्डको छाउपडी प्रथा र न्याय प्रणालीको कस्तो थियो ? त्यो यसबाट प्रष्ट हुन्छ ।” उहाँका अनुसार पहिले च्यारिटी शो मा देखिएको भन्दा फरक रुपमा ‘पंचायत’ आउन लागेको छ।
नायिका निता ढुंगानाले चलचित्र ‘पञ्चायत’ ऐतिहासिक चलचित्र बनेको भन्दै दर्शकले मन पराउनेमा विश्वास व्यक्त गर्नुभयो । आफूले १४ वर्षीय युवतीको भुमिका निर्वाह गरेको भन्दै आफ्नो भुमिकालाई पनि दर्शकले मन पराउनेमा विश्वास व्यक्त गर्नुभयो । “अमेरिका भएको फिल्म फेष्टिवलमा विश्वका २१६ वटा चलचित्रलाई उछिनेर उत्कृष्ट अवार्ड पायो, मैले उत्कृष्ट नायिकाको अवार्ड पाए, अब नेपाली दर्शकले पत्याउने बेला आएको छ”–नायिका ढुंगानाले भन्नुभयो । उहाँले चलचित्रको कथामा मौलिकपन र आफ्नोपन भएको बताउनुभयो ।


चलचित्रका लेखक तथा निर्देशक शिवम् अधिकारीले निकै लामो समयपछि नेपालमा अर्गा्निक चलचित्र ‘पंचायत’ बनेको दावी गर्नुभयो । “हामीले पैसा कमाउन चलचित्र बनाएका हैनौं, यसले नेपालको इतिहास झल्काउने छ”– अधिकारीले भन्नुभयो । यस चलचित्र आगामी चैत २ गतेदेखि देशभरका झण्डै १०० हलमा प्रदर्शन हुँदै छ ।

फिल्मका निर्माता गणेश गिरीले अहिलेसम्म चलचित्र हेरेका दर्शकले मनपराएको उल्लेख गर्दै भन्नुभयो– ‘दर्शकले माया दिनेमा ढुक्क छु।” गिरीले सबै कलाकारको उत्तिकै मेहनत र मुख्य कलाकारले पैसा समेत नलिएकाले यो चलचित्र सबैको साझा भएको बताउनुभयो ।

चलचित्र पत्रकार तथा चलचित्रका कार्यकारी निर्माता रवि अधिकारीले चलचित्रको कथाबस्तु उत्कृष्ट लागेकाले लगानी गरेको प्रतिक्रिया दिनुभयो । अहिलेको पुस्ताले हेर्नैपर्ने चलचित्र बनेको अर्की नायिका जाहान्वी बस्नेतको प्रतिक्रिया छ ।
चलचित्रका अर्का निर्माता शुसान्त श्रेष्ठका अनुसार उक्त चलचित्रको विहीबार हेटौंडामा च्यारिटी सो हुँदै छ भने फागुन २५ गते काठमाडौको कुमारीहलमा राजनीतिक नेता, वरिष्ठ कलाकार, पत्रकार, उद्योगी तथा विशिष्ट व्यक्तिहरुको सहभागितामा भिआईपी प्रिमियर सो हुँदै छ ।
शंकर सुवेदीको पनि लगानी रहेको चलचित्रमा रुपा राना, गीता अधिकारी, गणेश गिरी, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठको समेत अभिनय छ ।

प्रतिक्रिया दिनुहोस