भूकम्पपीडितले शुरु गरे एकीकृत बस्ती निर्माण

शुक्रबार, ०८ मंसिर २०७४, १३ : ४४
भूकम्पपीडितले शुरु गरे एकीकृत बस्ती निर्माण

काठमाडौँ  । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको निर्णयबमोजिम रु दुई लाख अनुदान लिएर नुवाकोट उर्लेनीका २४ घरपरिवारले सुरक्षित स्थानमा घडेरी खरिद गरेका छन् ।

भौगर्भिक अध्ययनअनुसार नुवाकोटको विकट उर्लेनीमा रहेका ७१ घर परिवार जोखिमयुक्त बस्तीमा बस्दै आएका थिए । यसमध्ये २४ लाभग्राहीले नुवाकोटस्थित ताँदी गाउँपालिका (साविक खरानीटार गाविस) मा घर निर्माणका लागि जग्गा खरिद गरेका छन् ।

जग्गाधनी र लाभग्राहीको मञ्जुरीमा सरकारको रु दुई लाख सहयोगमा आठ रोपनी जग्गा खरिद गरेको प्राधिकरण कार्यकारी समितिका सदस्य धुव्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

प्राधिकरणको स्वीकृतिमा जग्गा छनोट गरी सुरक्षित ठाउँको रुपमा रहेको उक्त जग्गा लाभग्राहीको नाममा दर्ता गरिएको छ । जग्गा खरिदका लागि प्राधिकरणले रु ४८ लाख निकासा गरेको थियो ।

भूगर्भविद्हरुले गरेको अध्ययन अनुसार उर्लेनी मानव बस्तीका लागि उपयुक्त नभएको पाइएपछि प्राधिकरणले उनीहरुलाई सुरक्षित स्थानमा सार्न पहल गरेको थियो । जोखिमयुक्त बस्तीबाट नयाँ स्थानमा सर्न घडेरी खरिद गरेका लाभग्राहीले सरकारी मापदण्ड पुर्‍याएर निजी आवास पुनःनिर्माणका लागि थप रु तीन लाख समेत अनुदान पाउनेछन् ।

“सुरक्षित ठाउँमा घडेरी खरिद गरेका पीडितले एकीकृत बस्ती विकासको अवधारणाअनुसार घर पुनःनिर्माण शुरु गर्नेछन् र बस्ती विकासका लागि प्रोत्साहन गर्ने प्राधिकरणको नीतिअनुसार सरकारले सामाजिक पूर्वाधारको समेत विकास गर्नेछ”–उहाँले भन्नुभयो ।

एकीकृत बस्ती विकास सम्बन्धी कार्यविधिअनुसार भूकम्प प्रभावित जिल्लामा मापदण्डअनुसार कम्तीमा १० घरपरिवारले एकीकृत बस्ती निर्माण गर्न चाहे हिमाली जिल्लामा रु पाँच लाख, पहाडी जिल्लामा रु चार लाख र तराई वा शहरी क्षेत्रमा रु तीन लाखसम्मप्रति परिवारको हिसाबले सरकारले पूर्वाधार विकासका लागि खर्च गर्ने व्यवस्था छ ।

विसं २०७४ असार २८ गते प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको दशौँ बैठकको निर्णयअनुसार सरकारले जोखिमयुक्त बस्तीका भूकम्पपीडितलाई सुरक्षित स्थानमा सर्न चाहे घडेरी खरिद गर्न रु दुई लाख उपलब्ध गराउने निर्णय गरेको थियो ।(रासस )

प्रतिक्रिया दिनुहोस