पीएसजी पराजित खेलमा नेयमारसहित पाँच खेलाडीलाई रेड कार्ड

एजेन्सी

सोमबार, २९ भदौ २०७७, ०९ : ५३
पीएसजी पराजित खेलमा नेयमारसहित पाँच खेलाडीलाई रेड कार्ड

एजेन्सी । पेरिस सेन्ट जर्मन (पीएसजी) पराजित खेलमा झगडाका कारण नेयमार सहित एकै खेलका पाँच खेलाडीलाई रेड कार्ड देखाइएको छ । लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा मार्सिलेसँग पीएसजी १–० गोलले पराजित भएको थियो । 

कोरोना भाइरस संक्रमणपछि मैदान फर्किएका ब्राजिलियन स्ट्राइकर नेयमार खेलको इन्जुरी समयमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । खेलको पहिलो हाफमा १–० ले पछि परको पीएसजी दोस्रो हाफमा इन्जुरी समयमा आठ खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो । 

खेलको ३१ औं मिनेटमा फ्लोरियन थाउभिनले गोल गर्दै अग्रता दिलाएका थिए । उनले डिमिट्री पायेटको पासमा गोल गर्दै मार्सिलेलाई जित दिलाएका थिए । पीएसजीको घरेलु मैदानमा भएको खेलको ९० मिनेट भित्र ३६ फाउल भएको थियो । जसका लागि रेफ्रीले पाँच रेड कार्डसहित १७ कार्डको प्रयोग गरेका थिए । 

खेलको अन्तिम समयमा अर्जेन्टिनी जोडी डारियो बेनेडेटो र लिआन्ड्रो पेरेडेसबीचको झगडाले ठुलो रुप लिएपछि खेलमा निकै नै तनाव ग्रस्त भएको थियो । झगडा नियन्त्रिणमा नआएपछि रेफ्रीले बेनेडेटो र पेरेडेस दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिर पठाएका थिए ।

 त्यस्तै नेयमारले स्पेनीस डिफेन्डर अल्वारो गोन्जालेजाको टाउकोको पछाडि थप्पड हानेपछि उनलाई पनि रेफ्रीले भीआरको सहायतामा रातो कार्ड देखाएका थिए । त्यसअघि पीएसजीका लेभिन कुर्जावा र मार्सिलेका जोर्डन अमावीलाई कार्ड देखाएका थिए । 
 

प्रतिक्रिया दिनुहोस