चितवन (रत्ननगर) । भरतपुर महानगरपालिका–५ तोरीखेतका मिलन गिरीको दैनिकी साइकल यात्राबाट शुरु हुन्छ । सनराइज बैङ्क नारायगढको कर्जा शाखामा कार्यरत उहाँ बिहान पाँच बजे उठ्छन् । “मुख धोएपछि साइकल लिएर निस्कन्छु”, उनले भने, “घरदेखि साइकल चढेर पश्चिम चितवनको मेघौलीसम्म जान्छु ।” उनको घरदेखि मेघौलीको दूरी करिब २५ किलोमिटर छ ।
साइकल चढेर मेघौली पुग्दा उनलाई थकाइ महशुस हुन्छ । “१५ मिनेटको विश्रामपछि त्यहाँबाट पुनः घर फर्किएर आउँछु”, उनले भने, “नुहाई धुवाई गरी बैङ्क जान्छु ।” विगत पाँच महिनादेखि बिहानको समयमा निरन्तर साइकल यात्रामा निस्कने गिरीको शरीर साइकल चढ्न थालेपछि फूर्तिलो बनेको छ ।” साइकलको यात्राले शारीरिक र मानसिक रुपमा स्वस्थ भएको महशुस आफूलाई भएको गिरीको भनाइ छ ।
पछिल्लो समय चितवनमा साइकलका सोखिनको बढ्दो जमातबीच गिरी एक्ला छैनन् । दिनदिनै साइकलमा घुम्न रुचाउने युवाको सङ्ख्या बढ्दो छ । पत्रकार सुरेशचन्द्र अधिकारीले पनि आजभोलि भरतपुर–११ बसेनीस्थित आफ्नो घरबाट साइकल चलाएर १० किलोमिटर पूर्व इच्छाकामाना गाउँपालिकको दाहाखानी पुग्छन् । साइकलबाट ‘मर्निङवाक’ गर्न थालेपछि स्वास्थ्यमा आएको सकारात्मक परिवर्तनले उनि दङ्ग छन् ।
त्यस्तै भरतपुर–७ कृष्णपुरका सुशिल आचार्यको दैनिकी पनि साइकल यात्राबाट नै शुरु हुन्छ । ५२ वर्षीय आचार्य दैनिक दुई घण्टा साइकल यात्रामा निस्कन्छन् । “साइकलबाट यात्रा गर्दा छुट्टै आन्नद आउँछ”, उनले भने, “जति हिडे पनि इन्धन खर्च हुँदैन । मासिक रु ५०० मर्मतसम्भारमा खर्च हुन्छ ।” साइकलको प्रयोग बढाउन सके वातावरण प्रदूषणमा कमी आउने उनको भनाइ छ ।
यहाँका एक मनि ट्रान्सफरमा काम गर्ने भरतपुर—७ कष्णपुरका सुमन कुँवरले दैनिक करीब दुई किलोमिटर साइकल चढेर कार्यालय पुग्ने गर्छन् । साइकलबाट कार्यालय आउनजान नै आफूलाई सजिलो लाग्ने उनको भनाइ छ । धेरै जनाले साइकल चढेको देखेपछि आफूलाई पनि रहर पलाएको बताउँदै उहाँले स्वस्थ रहन साइकल यात्रा उपयुक्त माध्यम हो भने । “साइकलले ढाड दुखाइ, ग्यास्ट्रिक र घुँडा दुख्ने समस्या निको बनाउँछ”, उनले भने, “स्वास्थ्य राम्रो हुने भएर नै यसप्रति झन् रुचि बढेको छ ।”
विगतमा ‘साइकल सिटी’ वा साइकलको जिल्ला भनेर परिचय पाएका चितवनमा बन्दाबन्दीका समयमा भने साइकल मोह फर्किएको पाइएको छ । कोरोना सङ्क्रमणका कारण मुलुकमा बन्दाबन्दी भएपछि आफूलाई शारीरिक र मानसिक रूपमा स्वस्थ राख्न ‘साइक्लिङ’ प्रति सर्वसाधारणको मोह बढेको देखिएको छ । शारीरिक रूपमा फिट हुने र जस्तोसुकै बन्दाबन्दीमा चलाउन पाइने भएकाले बालकदेखि प्रौढसम्मको रोजाइ साइकल बनेको हो ।
साइकल क्रेज बढेपछि यसको बिक्रीसमेत बढेको छ । बन्दाबन्दीको समयमा रु १३ हजारदेखि ६० हजारसम्मका साइकल बिक्री भएको साइकल व्यवसायी सङ्घ चितवन–नवलपुरका निवर्तमान अध्यक्ष धर्मराज सापकोटोले बताए । उनका अनुसार साइकल खरिद गर्ने स्थानीय नै बढी छन् । जिल्लालाई साइकल सिटीको रुपमा परिचित गराई राख्न अभियान चलाउनुपर्ने उनको भनाइ छ । “बन्दाबन्दीका बेलामा मात्र साइकल प्रयोग हुने, अरु बेला थन्काएर राख्ने भए यसको बिक्री हुनु खासै उपलब्धी होइन”, उनले भने, “साइकल सिटी निर्माण गर्न स्थानीय सरकारले प्रथामिकता दिनुपर्छ । यसका लागि साइकल पार्क र साइकल टुरिजमको अवधारणा अगाडि ल्याउनुपर्छ ।”
चितवनमा धमाधम सडक कालोपत्रे गर्ने काम भइरहँदा साइकल लेन पनि सँगै बनाउनुपर्ने आवज उठिरहेको छ । भरतपुर महानगरपालिकाले गत आर्थिक वर्षदेखि साइकल लेन निर्माणका लागि बजेट पनि छुटाइसकेको छ । अहिले महानगरपालिकाको वडा नं. ७ र ९ मा साइकल लेन निर्माण कार्य भइरहेको छ । साइकल अनुकूल पूर्वाधार निर्माण नहुँदा यसको प्रयोग गर्नेको सङ्ख्या पातलिएको विज्ञहरुको भनाइ छ ।
चितवनका महानगरपालिका तथा नगरपालिकाले साइकल लेनका लागि डेढदेखि साढे दुई मिटरसम्म सडक क्षेत्र छुट्याउनुपर्ने इञ्जिनीयर डा सूर्यराज आर्चायले बताए । “अहिले निर्माण भइरहेका कालोपत्रमा साइकल लेन अनिवार्य छ”, उनले भने, “जिल्लामा लेन निर्माण गरी ‘साइकल सिटी’को रुपमा ब्राण्डिङ गर्न सकिन्छ । नेपालको साइकल सिटी बनाउन उपयुक्त ठाउँ चितवन हो ।” चितवनको भौगोलिक अवस्था साइकल चलाउनका लागि उपयुक्त भएकाले साइकलको प्रवद्र्धन गर्न पूर्वाधार निर्माणमा स्थानीय तहले चासो दिनुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २४ भदौ २०७७, १८ : २५
लेखकबाट थप