हिरासतमा मृत्यु प्रकरण : एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध मुद्दा दर्ता

सफल खबर संवाददाता

बुधबार, २४ भदौ २०७७, १७ : ४४
हिरासतमा मृत्यु प्रकरण : एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । रौतहटको गरुडा नगरपालिका–८ जिंगडियाका १७ वर्षीय युवक विजयरामको हिरासतमा मृत्यु भएको घटनामा तत्कालीन जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । 

एसपी खड्कासहित तत्कालिन इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक डीएसपी ज्ञानकुमार महतो, प्रहरी निरीक्षक इन्सपेक्टर नविनकुमार सिंह, प्रहरी नायब निरीक्षक सई वीरेन्द्र यादव र हवल्दारद्वय मुन्ना सिंह र फिरोज धुनियाविरुद्ध मुर्दा दर्ता भएको हो । 

गरुडा नगरपालिका–८, जिगंडवाका २० वर्षीय निरन्जन रामको हत्या गरेको अभियोगमा विजयरामलाई साउन ३२ गते प्रहरीले पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेकै बेला गम्भीर अवस्था भएपछि उपचारका क्रममा वीरगञ्जमा उनको मृत्यु भएको थियो । १७ वर्षीय विजयको शरीरभरि निलडाम र घाउचोट भेटेपछि परिवारले प्रहरीको कुटपिटका कारण मृत्यु भएको दाबी गर्दै आएका छन् । विजयलाई हिरासतमा हत्या स्वीकार गर्न चरम यातना दिएको पीडित परिवारको आरोप छ ।

बुधबार विजयरामको बुबा पनिलाल महराचमारले एसपी खड्कासहित ६ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयमा यातना तथा ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेका हुन् । एसपी खड्कालाई १८ भदौमा रौतहट प्रहरी प्रमुखको जिम्मेवारीबाट खोसेर प्रहरी प्रधान कार्यालय नक्साल तानिएको छ । खड्काको ठाउँमा एसपी सिद्धिविक्रम शाहलाई पठाइएको छ ।


 

प्रतिक्रिया दिनुहोस