भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभललाई भेटेर दिल्लीस्थित नेपाली राजदुतले के भने ?

सफल खबर संवाददाता

मंगलबार, २३ भदौ २०७७, ०९ : ५५
भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभललाई भेटेर दिल्लीस्थित नेपाली राजदुतले के भने ?

काठमाडौं । भारतका प्रमुख राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग नेपालका लागि दिल्लीका राजदुत निलाम्बर आचार्यको महिनौ लामो प्रयास पछि बल्ल भेटवार्ता भएको छ । शुक्रबार दुई पक्षका बीचमा झण्डै आधा घण्टा कुराकानी भएको राजदुत आचार्यले पुष्टि गरेका छन् । डोभलको कार्यलयमा दुई पक्षबीच वार्ता भएको भएपनि त्यसमा भएका छलफलका विषयमा राजदुत आचार्यले खुलाउन चाहेका छैनन् । उनले यत्तिमात्रै भनेका छन्, ‘नेपाल र भारत सम्बन्धका सबै पक्षमा छलफल भयो ।’   

भारतले नेपालको कालापानी लिम्पियाधुरा क्षेत्रमा जर्बजस्ती सडक मार्ग खोल्ने काम गरेपछि दुई पक्षका बीचमा सम्बन्धमा दरार पैदा भएको थियो । नेपालले त्यसपछि द्धिपक्षिय वार्ताबाट सीमामा देखिएको तनाव सुल्झाउन अनेक पटक वार्ताको प्रयास गरेपनि भारतीय पक्ष तयार नहुँदा सम्वाद हुन सकेको छैन् ।  डोभल र राजदुत आचार्यबीचको छलफलमा दुई देशका मन्त्रीस्तरको भ्रमण पहिले गराउने र त्यसबाट विकसित राजनीतिक घटनाक्रमका बारेमा सम्बन्ध सुधार हुदैं सिमा समस्यामा केन्द्रीत रहेर छलफलको वातावरण बनाउने तयारीमा केन्द्रीत रहेर छलफल भएको बताइन्छ ।

भारतले विदेश मन्त्री जयशंकर या भारतीय गृहमन्त्री राजनाथ सिंह मध्ये एकलाई दशैं अगाडी नै नेपाल भ्रमणमा पठाउने गरी छलफल समेत गरेको स्रोतले बताएको छ ।  भारतीय स्वतन्त्रता दिवसका दिन दुई देशका प्रधानमन्त्रीको तहमा झण्डै ११ मिनेट कुराकानी भएपछि सम्वादमा केही सुधार आएको छ । त्यही क्रममा दिल्लीस्थित राजदुतले पनि डोभलसँगको भेट गरेका हुन् । डोभल भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकारका विदेश मामिला तथा सुरक्षाका क्षेत्रमा निर्णायक ब्यक्तिका रुपमा मानिन्छन् ।

उनलाई त्यहाँ मन्त्रीस्तरको सेवा सुविधा उपलब्ध हुदै आएको छ । दिल्लीका लागि नेपाली राजदुत निलाम्बर आचार्य पनि मन्त्रीस्तरकै सेवा सुविधा लिएर राजदुत बन्न त्यहाँ पुगेका थिए । तर आचार्यको भूमिका दिल्लीमा प्रभावकारी देखिन नसकेको नेपालमा जनगुनासो रहदै आएको छ । 

डोभलसँग आचार्यले गरेको कुराकानी गोप्य राखिएपनि दुई देशबीच देखिएको खटपटपूर्ण सम्बन्ध सुधार गर्दै सीमा समस्याका बारेमा छलफल गर्ने विषयमा केन्द्रीत कुराकानी भएको मानिएको छ । डोभल नेपालसम्बन्धी मामिलामा समेत विशेष चासो राख्ने ब्यक्ति हुन् । सीमा विवादलाई लिएर दुई देशबीचको सम्बन्धमा लामो समयदेखि विश्वास संकट कायम रहेको पृष्ठभूमिमा उनीहरूबीच भएको भेटलाई दुई देशको राजनीतिक तहमा देखिएको तनाव र असमझदारी कम गर्न महत्वपूर्ण मानिने अनुमान सरकारले गरेको छ । राजदुत आचार्यले आफ्नो डोभलसँगको छलफलका बारेमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शुक्रबार नै जानकारी गराएका छन् । त्यही आधारमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि दुई देशबीच सम्वादको वातावरण बन्दै जान थालेको बताएका छन् । 

नेपालले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरासम्मको भूभाग आफ्नो भएको बताउँदै आएको छ । तर भारतले यो तथ्यलाई नजरअन्दाज गरी गत वर्ष कात्तिक १६ मा जारी गरेको राजनीतिक तथा प्रशासनिक नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकका ति क्षेत्रलाई आफ्नो भूमि भन्दै एकतर्फी रुपमा समेटेको थियो । त्यसको नेपालले तत्कालै कुटनीतिक नोटमार्फत विरोध जनाएको थियो । सिमा समस्या समाधानका लागि द्धिपक्षिय वार्ता गर्ने नेपालले प्रस्ताव गरेपनि उसले सुने नसुनेझै गरेर फेरि त्यस क्षेत्रमा सडक मार्ग खोल्ने काम गरेको थियो । यस पछि भने नेपालले पनि आफ्नो राजनीतिक नक्सा प्रकाशन गरेर लिम्पियाधुरासम्मको आफ्नो भूमि समेटेको थियो । 

डोभलसँगको सम्वाद पछि विकसित हुन थालेको दुई देश बीचको सम्वादलाई राजदूत आचार्यले पनि प्रधानमन्त्री तहमा भारतको स्वतन्त्रता दिवसका दिन भएको टेलिफोन संवादले सकारात्मक वातावरण निर्माण गरेको बताए । त्यसको दुई दिनपछि नै भारतीय सहयोगमा सञ्चालित विकास परियोजनाहरूको समीक्षा गर्न नेपाल–भारत अनुगमन संयन्त्रको बैठक भयो । परियोजनाहरूको प्रगति सकारात्मक रहेको निष्कर्षसहित बैठक सकिनुलाई दुई देशबीचको सम्बन्ध सुधारोन्मुख बन्न थालेको संकेतका रूपमा हेरिएको थियो । त्यसको केही दिनमै भारतीय राजदूत विनयमोहन क्वात्रा सडक मार्ग हुँदै दिल्ली पुगेर त्यहाँका विदेश सचिव लगायतसँग भेट गरेर फर्किएका थिए । 

राजदुत क्वात्राले काठमाडौंमा रहदा प्रधानमन्त्री ओली देखि नेकपाका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, काँग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतसँग पनि भेट गरेर दिल्ली पुगेका थिए । उनी अहिले नेपाल फर्किसकेका छन् ।  भारतको विदेश मन्त्रालयका अनुभवी र परिपक्व ‘क्याडर’ क्वात्राको यात्रा दुई देशबीचको सम्बन्ध र काठमाडौंको पछिल्लो राजनीतिक वातावरणबारे दिल्लीलाई ब्रिफिङ गर्नका लागि भएको ठानिएको छ । दिल्लीमा रहँदा उनले दुई देशबीच उच्च राजनीतिक तहको भेटघाट र संवादको पहलका लागि प्रयास गरेको अनुमान गरिएको छ । आचार्य र डोभलबीच भएको पछिल्लो भेटलाई क्वात्राको दिल्ली भ्रमणसँग पनि जोडेर हेरिएको छ ।