कोरोना बिमाको विवाद टुङ्गो लगाउन छानविन समिति

सफल खबर संवाददाता

आइतबार, २१ भदौ २०७७, १६ : ३६
कोरोना बिमाको विवाद टुङ्गो लगाउन छानविन समिति

काठमाडौं । पछिल्लो समय कोरोना बिमा दावी भुक्तानीमा देखिएको समस्या समाधानका लागि बिमा समितिले छानविन समिति गठन गरेको छ । बिमा समितिको कोरोना बिमा मापदण्डमा निजी ल्याबमा गरिएको परीक्षणले बिमा रकम दावी नपुग्ने व्यवस्था गरिएको थियो । यो विषयले बिमा समिति नै विवादमा आएको थियो । 

स्वास्थ्य मन्त्रालयकै अनुमति पाएर बिमा समितिले परीक्षण गराउने निजी ल्याबको समेत रिपोर्ट मान्यता नहुने भनेपछि बजारमा तरङ्ग सिर्जना भएको थियो । विवादपछि समितिले कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा अर्थमन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमेतको प्रतिनिधि रहने गरी ३ सदस्यीय छानविन समिति बनाइएको छ । 

हालसम्म दावी परेकाहरुमध्ये स्वास्थ्य मन्त्रालयका माताहतका निकायबाट गरिएको परीक्षण भए तत्कालै भुक्तानी दिने र त्यसबाहेकका विषयमा समितिले छानविन गर्नेछ । छानविनपछि समितिले दिएको निष्कर्ष अनुसार भुक्तानी हुनेछ । समितिको निर्णयअनुुुसार निजी ल्याबको मान्यता दिने वा नदिने भन्ने विषयमा मापदण्ड नै संशोधन गर्नुपर्ने भएकाले सोही समितिको सिफारिसका आधारमा समितिले मापदण्ड समेत संशोधन गर्न सकिने बिमा समितिले जनाएको छ । छानविन समितिले दिएको सुझावपछि समस्या समाधान हुने विश्वाससमेत गरिएको छ । 


 

प्रतिक्रिया दिनुहोस