विराटनगर । यस्तो विपत्ति कसैलाई नपरोस् । एक महिनाको फरकमा एकै परिवारका तीन जनाको ज्यान गयो । परिवारका बुबा र उनका दुई छोरीहरुको एक महिनाको फरकमा मृत्यु भएको हो । दुई दिदीबहिनीको मृत्यु कोरोनाको कारणले भएको हो ।
विराटनगर महानगरपालिका–११ मा श्रेष्ठ थरका ७० वर्षीय वृद्धको यही भदौ २३ गते कालगतिले मृत्यु भएको थियो । ९ भदौ र २० भदौमा वृद्धका ४० र ४३ वर्षीय छोरीको मृत्यु भयो । वृद्धको मृत्यु प्रश्चात कोरोना नेगेटिभ देखिएको थियो । उनका दुई छोरीको मृत्यु भने कोरोना पोजेटिभ आयो ।
‘एक महिनाको अवधिमा एकै परिवारका तीन जनाको मृत्यु भएको हो, यस्तो बिपत्ति कसैलाई नपरोस्’ विराटनगर– ११ नं वडाका वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले भने । उनका अनुसार घरमात्र होइन, ११ नं वडा नै पूरै शोकमा डुबेको छ ।
मृतक परिवारका अन्य सात जना आफन्तलाई पनि कोरोना देखिएको छ । वृद्धको मृत्यु भएको २० दिनपछि ९ भदौमा ४० वर्षीया कान्छी छोरीको विराट मेडिकल कलेजमा मृत्यु भयो । कान्छी छोरीको मृत्यु भएको १० दिनपछि शुक्रबार राति ४३ वर्षीया जेठी छोरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भयो ।
बाबुको मृत्यु संस्कारको काममा बसेकी ४० वर्षीया छोरीमा कामकै बीचमा ज्वरो आइरहेको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि जाँच गर्दा उनलाई कोरोना संक्रमण देखिएको हो।
पेट, छाती र श्वासप्रश्वासमा समस्या भएपछि ती महिलाको ४३ वर्षीया दिदीलाई विराटनगरको न्युरो अस्पतालले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरेको थियो । उनलाई १७ भदौमा संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ भदौ २०७७, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्सामा कोरोना संक्रमित भेटिएपछि नाकामा बढाइयो निगरानी