काठमाडौं । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा एसिड पिडित बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन् ।
गत भदौ २० गते घरवाट विद्यालय जादै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवाले एसिड प्रहार गरेका थिए । एसिड प्रहारवाट घाइते उनको अहिले पनि उपचार चलिरहेको छ । नौ कक्षामा अध्ययनरत खातुनलाई अध्ययन खर्चमा सहयोग पुगोस् भनेर मन्त्री भट्टराईले ५० हजार नगद प्रदान गरेका छन् । । सहयोग रकम प्रदान गर्दै मन्त्री भट्टराइले खातुनको आत्मविश्वासबाट आफू धेरै प्रभावित बनेको बताए ।
उनले भने–‘मलाई विश्वास छ, तपाई भविष्यमा डाक्टर बन्नुहुनेछ । मैले अहिले दिएको सहयोग बैंकमा जम्मा गरेर भोली डाक्टर पढ्ने बेलामा खर्च गर्नुहोला ।’ उनले एसिड पिडित बालिका खातुनसँग अप्ठेरो बेलामा मात्र नभएर सजिलो बेला पनि जीन्दगीभर सम्बन्ध रहिरहने बताए । पिडित बालिकालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केहि दिन अघि बालुवाटारमा बोलाएर उनको शिक्षाको सबै प्रबन्ध गरिने बचन दिएका थिए ।
जन्मदिनमा भोजभतेरमा गरिने खर्चले कुनै अर्थ नराख्ने भएकाले उक्त रकम मन्त्री भट्टराइले सामाजिक र परोपकारी काममा प्रयोग गर्दै आएका छन् । ०७२ सालदेखि मन्त्री भट्टराईले नियमितरुपमा आफ्नो जन्मदिनमा असहाय, पिडित, विपन्न बालबालिकालाई सहयोग गर्दै आएका छन् । ०७२ को महाभूकम्पमा बाबु गुमाएका काठमाडौं मनमैजुका बालक विराज अधिकारीलाई सहयोग गरेर यो खालको कामको शुरुवात गरेका मन्त्री भट्टराइले ०७३ सालको जन्मदिनमा बाबुआमाले लिएको ऋण तिर्न नसकेपछि गोठालो बेसका दोर्जी शेर्पालाई उद्धार गरी काठमाडौं ल्याएर पठनपाठनको व्यवस्था मिलाई दिएका थिए ।
०७४ सालको जन्मदिनमा पनि भट्टराईले दुवै भल्भ फेर्नुपर्ने समस्याबाट पिडित मुटुरोगी ताप्लेजुङका मिलन शेर्पाको उपचारमा सहयोग गरेका थिए । ०७५ को जन्मदिनमा ताप्लेजुङका खवपन्न दुई बालक गंगा विक र कमल विकलाई अध्ययन खर्चस्वरुप नगद सहयोग प्रदान गरेका थिए । गत वर्षको जन्मदिनमा मन्त्री भट्टराईले पढाइ लेखाईमा अप्ठेरोमा परेका दृष्टिविहिन आमाबुबाका सन्तान ताप्लेजुङका समीर राईलाई समेत सहयोग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ भदौ २०७७, १२ : ३२
लेखकबाट थप