गोकुल बाँस्कोटा अडियो प्रकरण

म भागेको हैन, रेकर्डिङ डिभाइस लिन जापान आएको हुँ, सबै प्रमाण जुटाएर अख्तियारमा पेश गर्नेछु : मिश्र

सफल खबर संवाददाता

बुधबार, १७ भदौ २०७७, १२ : ३९
म भागेको हैन, रेकर्डिङ डिभाइस लिन जापान आएको हुँ, सबै प्रमाण जुटाएर अख्तियारमा पेश गर्नेछु : मिश्र

काठमाडौँ । तत्कालिन सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ मागेको अडियो खुलासा गर्ने विजयप्रकाश मिश्रले बुधबार एक विज्ञप्ति जारी गर्दै आफू नभागेको बताएका छन् ।

विज्ञप्तिमा मिश्रले भनेका छन्,  ‘नेपाल फर्किने फ्लाइट निश्चित भइसकेको अवस्थामा भागेर जापान गयो भनी प्रचार गरियो । म फरार भएको भनी गरिएका प्रचारहरू गलत हुन् । रेकर्डिङ डिभाइस मैले अख्तियारमा बुझाउनुपर्ने र त्यो डिभाइस जापानमा भएको हुँदा लिन जापान आएको हुँ ।’

कुनै पनि राजनीतिक व्यक्ति वा सर्वसाधारण भ्रष्टाचारजस्तो राज्यविरुद्धको जघन्य अपराधबाट उम्कन नसक्ने बताउँदै मिश्रले आफूले गरेको सबै ठिक, अरुले गरेको सबै बेठिक भन्नेले आफ्नो आङमा हात्ती नदेख्ने र अर्काको आङमा जुम्रा देख्ने प्रवृतिबाट चोखो रहन नसक्ने बताएका छन् ।

शक्ति र पैसाको आडमा गरिने चाटुकारिता क्षणिक हुने र अन्त्यमा सत्यको नै जित हुने कुरामा विश्वस्त रहेको मिश्रले बताए । उनले भनेका छन्, ‘केवल न्यायलाई विचलित पार्न र अनुसन्धानलाई फितलो पारेर जनताको ध्यान अन्यत्रै मोड्न गरिएको प्रपोगान्डा हो ।’

‘अडियो प्रकरणमा बाहिर आउन बाँकी कुराहरु अझै गर्भमा दबिएर बसेको छन्,’ मिश्रले भनेका छन्, ‘सबै प्रमाणहरु जुटाएर अख्तियारमा पेश गर्नेछु ।’ कसैको गुणगान गाएर १० जना फेसबुकमा साथी बनाएर म्यासेज गर्दैमा कोही चोखिन नसक्ने मिश्रको भनाइ छ ।

आयोगबाट उक्त प्रकरणमा सहयोग मागिएकाले अडियो रेकर्डिङको डिभाइस लिन आफू जापान आएको मिश्रको भनाइ छ । बुधबारको गोरखापत्रमा अख्तियारले मिश्रको नाममा सात दिने सूचना जारी गरेको छ ।

गत जेठमा बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएसँगै बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए । 

प्रतिक्रिया दिनुहोस