राष्ट्रिय आधारभुत विद्यालय वीरेन्द्रनगरले मनायो स्वर्ण महोत्सव

सोमबार, २१ फागुन २०७४, १६ : ३२
राष्ट्रिय आधारभुत विद्यालय वीरेन्द्रनगरले मनायो स्वर्ण महोत्सव

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २२, वीरेन्द्रनगर टाउन, पटिहानीमा रहेको श्री राष्ट्रिय आधारभुत विद्यालय वीरेन्द्रनगरले सोमबार एक समारोहबीच स्वर्ण महोत्सव सम्पन्न गरेको छ ।

स्वर्ण महोत्सव समारोहकी प्रमुख अतिथि भरतपुर महानगर प्रमुख रेनु दाहालले समारोहलाई सम्बोधन गर्दै विद्यालयहरूको भौतिक संरचनाको विकास र गुणस्तर वृद्धिका लागि महानगरपालिकाले विशेष नीति निर्माण गरिरहेको बताउनु भयो । उहाँले विद्यालय शिक्षा गुणस्तरीय र ब्यावहारिक नबनाई अबको राष्ट्रिय आवश्यकता पूरा गर्ने जनशक्ति उत्पादन हुन नसक्ने बताउनु भयो । शिक्षा क्षेत्र परम्परागत शैलीबाट माथि उठ्न ढिलो भैसकेको बताउँदै महानगर प्रमुख दाहालले यसलाई समयसापेक्ष नीतिगत निर्णय गर्दै अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । 

सामुदायिक विद्यालयहरू निम्न वर्गका परिवारका बालबालिका पढ्ने विद्यालय भन्ने सामाजिक मान्यता बनेको छ । यसलाई तोड्न सामुदायिक विद्यालयहरूको भौतिक र शैक्षिक गुणस्तर वृद्धि अपरिहार्य भएको छ, उहाँले भन्नभुयो, संविधानले स्थानीय सरकारलाई असिमित अधिकार प्रदान गरेको छ । त्यसमध्ये शिक्षा क्षेत्रको नीति निर्माण, ब्यवस्थापन, नियमन र अनुगमन महानगरपालिकाले गर्ने भन्दै दाहालले विद्यालयमा अध्यापन गर्ने शिक्षक, काम गर्ने कर्मचारी, अध्ययन गर्ने विद्यार्थी र अभिभावक वर्ग सबै अब जिम्मेवार बन्नुर्ने बताउनु भयो ।

महानगर प्रमुख दाहालले आवश्यकताका आधारमा सहयोग प्रदान गर्ने बताउँदै विद्यार्थी नभएका विद्यालयहरू गाभिने प्रकृयामा जानुपर्ने र पठनपाठनमा जोड नदिने शिक्षक, कर्मचारीहरूलाई कारबाही गरिने बताउनु भयो । उहाँले महानगरभित्रका कुनै पनि बालबालिका शिक्षाको अवसरबाट बञ्चित हुन नहुने बताउँदै त्यसका लागि महानगरले आगामी शैक्षिक सत्रबाट विद्यालय शिक्षा अभियान संचालन गर्ने बताउनु भयो ।

उहाँले शैक्षिक स्तर उत्कृष्ट कायम गर्ने सामुदायिक विद्यालयलाई परिणामका आधारमा पुरस्कृत गरिने नीति लिइने बताउनु भयो । विद्यालयले स्वर्ण महोत्सव सम्पन्न गरेकोमा शुभकामना ब्यक्त गर्दै दाहालले विद्यालयलाई सहयोग गर्ने विशिष्ट ब्यक्तिहरुलाई धन्यवाद ब्यक्त गर्नुभयो ।

विद्यालयको स्वर्ण महोत्सवको अवसरमा विद्यालयका शुभचिन्तक ऋषि पौडेलले विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ५ लाख ७५ हजार रूपैयाँ सहयोग गर्नु भएको छ । समारोहमा चन्दादाता, पूर्वशिक्षक, शुभचिन्तक र शिक्षाप्रेमी व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । 

कार्यक्रममा वडा नम्बर २२ का अध्यक्ष विष्णुराज महतो, वडा नम्बर २३ का अध्यक्ष नरीनारायण पौडेल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । स्वर्ण महोत्सव आयोजक मूल समारोह समितिका संयोजक तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सागर पौडेलको अध्यक्षतामा सम्पन्न समारोहमा विद्यालयका प्रधानाध्यापक किरण पौडेलले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस