‘भरतपुर–एक बगैँचा’ अभियान अन्तर्गत २२ हजार वृक्षरोपण

रासस

आइतबार, १४ भदौ २०७७, १३ : ०१
‘भरतपुर–एक बगैँचा’ अभियान अन्तर्गत २२ हजार वृक्षरोपण

फाइल फोटो

चितवन ।  भरतपुर महानगर क्षेत्रलाई फलफूलको बगैँचाको स्वरुप दिने अभियानलाई निरन्तरता दिँदै बिरुवा रोपिएको हो । राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर गत असार १४ गते शुरु भएको अभियान आज सकिएको छ । ‘भरतपुर–एक बगैँचा’ अभियानले महानगरलाई केही वर्षमै हरियाली महानगरका रुपमा लक्ष्य राखिएको छ ।

फलफूलको बिरुवा रोप्नका लागि तथ्याङ्क सङ्कलन र बिरुवा वितरणको जिम्मा लिएको ‘वे’ गु्रपका संयोजक भोजनारायण कँडेलले महानगरमा यस वर्ष २२ हजार बिरुवा रोपिएको बताउनुभयो । उहाँले भन्नुभयो टोलभित्र आवश्यक पर्ने बिरुवाको घरदैलोमै पुगेर लिएको विवरणअनुसार वितरण गरेका छौँ ।

“फलफूलका बिरुवा रोप्न सबैले साथ दिएका छन्, उहाँले भन्नुभयो, “केही वर्षमै भरतपुर क्षेत्र हरित हुनेछ ।” उहाँका अनुसार माग फारममार्फत टोलवासीले चाहना गरेका फलफूलका बिरुवा सकेसम्म उपलब्ध गराइएको छ । गत वर्ष मात्रै महानगर सात वडामा ६५ हजार बढी फलफूलका बिरुवा रोपिएको थियो ।

वाग्मती प्रदेशका सांसद विजय सुवेदीले यस वर्ष कोरोनाको प्रभावका बीच पनि आवश्यक मात्रामा फलफूलका बिरुवा रोपिएको जानकारी दिनुभयो । “भरतपुरलाई बगैँचा बनाउने काम अगाडि बढेको छ”, सुवेदीले भन्नुभयो “यसपालि छुट्टै बजेट नभए पनि महानगरपालिका, कृषि ज्ञान केन्द्र, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र वन कार्यालयको सहयोगमा अभियान सफल भएको छ ।”

प्रदेश सरकारले सरसफाइ र हरियाली प्रवद्र्धन कार्यक्रमका रुपमा बजेट विनियोजन गरे पनि यसपालि सो बजेट परेको छैन । गत वर्ष प्रदेशले रु ५० लाख बराबर बजेट विनियोजन गरेको थियो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरपालिकामा रोपिएका बिरुवालाई संरक्षण गरिने बताउनुभयो । हरेक वडाका हरेक दुई टोललाई नमूना टोलका रूपमा छनोट गरी ‘एक टोल–एक बिरुवा चिनारी’ हुने उहाँको भनाइ छ । महानगरका वडा कार्यालयमार्फत स्थानीयवासीलाई बिरुवा बाँडिएको हो ।

प्रतिक्रिया दिनुहोस