भरतपुर । चितवनको भरतपुर महानगरपालिकाभित्र खानेपानी वितरणमा समस्या देखिन थालेको छ । सडक र ढल निर्माणका क्रममा पानीका पाइप बिग्रिएका कारण भरतपुर खानेपानी बोर्डमार्फत वितरण हुँदै आएको खानेपानी वितरणमा समस्या भएको हो । सडक निर्माण र विस्तारका क्रममा यहाँका सरकारी निकायबीच समन्वय छैन । जसका कारण सडक र ढल निर्माणका क्रममा यो समस्या दोहोरिन्छ ।
“ढल र सडक निर्माणका क्रममा पाइप काटिने र भाँचिने समस्याले खानेपानी वितरणमा अबरोध आउने गरेको भरतपुर खानेपानी बोर्डका प्रमुख प्रजापति दाहालले बताए । “निषेधाज्ञापछि झन् यो समस्या बढी देखिन थालेको छ”, उनले भने, “खानेपानी मर्मत गर्ने पलम्बर कर्मचारी सिमित छन् । निषेधाज्ञाका कारण टाढाका कर्मचारी आउन सम्भव छैन, केही कर्मचारीका भरमा काम गरिरहेका छौँ”, उनले भने । यो समयमा नियमित मर्मत र अनुगमनमा समेत जान नपाएको उनले बताए ।
“फोनबाट गुनासो गर्नेहरु धेरै हुनुहुन्छ”, दाहालले भने, “पानी फुटेर खेर जाने ठाउँलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ ।” दैनिक चार/पाँच ठाँउबाट खानेपानीको समस्या आउने गरेको उनले बताए । यो समयमा तत्काल मर्मत गर्न सम्भव नभएको उनको भनाइ छ ।
बोर्डअन्तर्गत भरतपुर र कृष्णपुर स्टेसनअन्तर्गत १६ जना पलम्बर कार्यरत छन् । जसमध्ये ७ जनामात्र अहिले काममा खटिएका छन् । भरतपुर महानगर र शहरी विकास अन्तर्गतका भइरहेका अधिकांश सडक निर्माणका क्रममा पाइप काटिने गरेको छ ।
विसं २०३२ देखिका जिर्ण पाइप भएकाले पनि पटक–पटक समस्या हुने गरेको कार्यालयले जनाएको छ । भरतपुर महानगरपालिकामा वोर्डले खानेपानी उपलब्ध गराउने ३० हजार ६०० ग्राहक छन् । “यस वर्ष विस्तार गर्ने योजना थियो”, दाहालले भने, “कोरोनाका कारण काम गर्न सकिएको छैन् ।” यसबाहेक भरतपुर महानगरपालिकामा अन्य उपभोक्ता समितिमार्फत खानेपानी वितरण हुँदै आएको छ । बोर्डको ८५० किलोमिटरको खानेपानीको नेटवर्क छ ।
बोर्डले महानगरपालिकाका वडा नम्वर १ देखि १६ नम्वर र २२ नम्वर वडामा खानेपानी उपलब्ध गराउँदै आएको छ । २०६४ सालमा स्थापना भएको खानेपानी बोर्डले दैनिक १ करोड ३७ लाख लिटर खानेपानी उत्पादन गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ११ भदौ २०७७, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिमकोटमा खानेपानीको समस्या
उपत्यकामा खानेपानी वितरण गर्न बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण सम्पन्न
कलुवापुरमा खानेपानी समस्या हट्यो
कोरलामा खानेपानी र शौचालयको अभाव
क्षतिग्रस्त खानेपानी आयोजना पुनर्निर्माण गर्न माग
बाढी र डुबानले प्रभावित सर्लाहीका गाउँमा खानेपानी समस्या