– प्रकाश सिग्देल
चितवन । हुनेखानेहरु दर पकाएर खाइरहँदा इच्छाकामना गाउँपालिका ७ स्याङ्तीका चेपाङ समुदायहरु गिठा र भ्याकुरका भरमा आफ्नो प्राण धानिरहेका छन् । कोरोनाको यो कहरमा सहर सन्त्रासमा बाँचिरहेका बेला गाउँमा कोरोनाको जोखिम कम महसुस गरे पनि कोरोना परिवारमा सर्यो भने त्यसको अवस्था निकै दुखद हुने उनीहरु बताउँछन् ।
यहाँका चेपाङहरुले बर्षौंदेखि रोग र भोक पचाएकाले कोरोना पनि पचाउने बताउँछन् तर सहरमा लकडाउन भएका बेला घुम्न भनी गाउँबस्ती छिर्ने मानिसहरुबाट कोरोना सर्छ कि भन्ने त्रास उनीहरुमा छ ।
चितवनको पहाडी गाउँहरुमा वर्षौंदेखि बस्दै आएका चेपाङ आधा पेट खाएर कन्दमुल मात्रैको भरमा जीवन धान्दै आएका छन् । कोदो, मकै उत्पादन गरी जाँड बनाएर पिउने र बाँकी कन्दमुलकै भरमा आफूहरुले जीवन धानिरहेको इच्छाकामना ७ स्याङ्तीका पदम बहादुर चेपाङ बताउँछन् ।
पहाडी क्षेत्रमा चेपाङहरुको एक घरदेखि अर्को घरसम्मको दुरी कम्तीमा पनि १ किलोमिटर टाढा एक डाँडोदेखि अर्को डाँडामा हुने र उनीहरु एक परिवारको मानिस अर्को परिवारमा काम नपरेसम्म नजाने चलन छ । सहरतिर पनि कामका लागि वा वर्षमा एकदुई पटक नुन र तेलका लागि मात्रै झर्ने हुँदा कोरोनाको जोखिममा आफूहरु अन्य समुदायमा भन्दा कम पर्ने बुद्धिमाया चेपाङ बताउँछिन् ।
कोरोनाको कहर नहुँदा त दैनिक जीवन धान्न निकै कष्टपूर्ण तवरबाट संघर्ष गरेका यहाँका चेपाङ समुदायको अहिले जीवन थप जटिल बनेको देखिन्छ । काम गर्न सक्ने युवाहरु सहरतिर झरेर सानोतिनो काम गर्दै जीवन चलाउँदै आएका थिए । कोरोनाका कारण सहर बन्द हुँदा काम गरेर पैसा कमाउने आसा पनि मरिसकेको र अहिले गाउँमै खोरिया फाँडेर कन्दमुल खोजेर खाएर जीवन धान्ने गरेको चेपाङ युवाहरु बताउँछन् ।
पहाडी गाउँमा बस्ने चेपाङहरुको अवस्था निकै कठिन बनेको र कोरोनाको प्रकोपको जोखिमका बिचमा सामान्य गुजारा गरेर गर्जो टार्नेहरुको रोजगारी समेत खोसिँदा शोक र भोकमा चेपाङ समुदाय बाँचिरहेको मैयादेवी ट्रष्ट नेपालका महासचिव टंकनाथ पौडेलले बताउँछन् ।
यस्तो असहज अवस्थाम चेपाङ समुदायमा कोरोनाको प्रकोप फैलन नदिई राज्यले उनीहरुका लागि खाद्यान्नको उचित प्रबन्ध गर्नु पर्ने पौडेलको भनाई छ । अहिले यहाँका चेपाङ समुदायहरुका बालबालिकादेखि महिला, युवा तथा वृद्ध सबै कन्दमुलकै भरमा जीवन धानिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
प्रकाश सिग्देल
विहीबार, ०४ भदौ २०७७, १३ : २०
लेखकबाट थप