एकै परिवारका चौध जनामा कोरोना संक्रमण देखिएपछि चार वटा वडा सिल

सफल खबर संवाददाता

मंगलबार, २० साउन २०७७, ११ : ४६
एकै परिवारका चौध जनामा कोरोना संक्रमण देखिएपछि चार वटा वडा सिल

सांकेतिक तस्विर

मोरङ । रंगेली नगरपालिकामा एकै परिवारका चौध जनामा कोरोना संक्रमण देखिएपछि चार वटा वडा सिल गरिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीका अनुसार नगरपालिकाको ४, ५, ६ र ७ नम्बर वडा पूर्ण रुपमा सिल गरिएको जानकारी दिए । 

नगरपालिकाले बजार क्षेत्र, बजारको पूर्व मधुवनी चौकदेखि सुनवर्षी नगरपालिका पश्चिम, चिसांग खोला, उत्तरमा निचामारी वक्राह खोला पुल, र दक्षिणमा भन्सार गेट क्षेत्रभर सिल गरेको हो ।

केहीदिन अघि मुख्यबजार क्षेत्रमा ७३ वर्षीय उमेरका बृद्धको मृत्यु भएपछि भेला भएका एकैपरिवारका १४ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

मृतकको घर पुग्ने र परिवारका अन्य सदस्यहरुको पहिचान गर्दै सबैको स्वाब नमूना संकलन कार्य भइरहेको उनको भनाई छ ।

मृतक परिवारका सदस्यहरु भारतको दिल्लीदेखि काठमाडौँबाट रंगेली घर आएका थिए । नगरपालिकाका अनुसार करिब १ महिनाअघि मृतकका छोरी दिल्लीबाट आएकी थिइन् ।

दिल्लीबाट आउने क्रममा उनलाई विराटनगर वडा नम्बर १० बाट होटल क्वारेन्टिनमा बस्नका लागि अनुमति दिएको नगरपालिकाले जनाएको छ । सोही वडाको सिफारिसको आधारमा उनी रंगेली आएको प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस