प्रहरीमा कोरोना संक्रमण बढ्यो, ३ सय १३ ट्राफिक प्रहरी क्वारेन्टाइनमा

पत्रपत्रिकाबाट

सोमबार, १९ साउन २०७७, ०७ : २०
प्रहरीमा कोरोना संक्रमण बढ्यो, ३ सय १३ ट्राफिक प्रहरी क्वारेन्टाइनमा

फाइल तस्विर

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा (बग्गीखाना) का प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालसहित ३ सय १३ जनालाई कार्यालयभित्रै क्वारेन्टाइनमा राखिएको छ ।

उपत्यकामा दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै सबै प्रहरीलाई बग्गीखानाभित्रै राखिएको हो । अहिले बग्गीखानालाई सिल गरिएको छ । उनीहरु करिब ५ दिनसम्म क्वारेन्टाइनमा रहनेछन् ।

पीसीआर परीक्षण गरेपछि नेगेटिभ देखिए मात्र नियमित डिउटीमा पठाउने तयारी महाशाखाले गरेको छ । प्रमुखसहित यति धेरै संख्यामा ट्राफिक प्रहरी क्वारेन्टाइनमा बसेपछि उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या आउने बताइएको छ ।

कोरोना देखिएका दुई जना प्रहरीलाई अस्पताल लगिएको छ भने बाँकी प्रहरी आफ्नै कार्यकक्ष र कोही ब्यारेकमा बसेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले दुई जना प्रहरीमा कोरोना संक्रमण देखिएपछि एसएसपी ढकालसहित ३ सय १३ जनालाई क्वारेन्टाइनमा राखिएको जानकारी दिनुभयो ।

क्वारेन्टाइनमा रहेका प्रमुख ढकालसहितको उच्च अधिकारीले बग्गीखानाबाटै उपत्यको ट्राफिक व्यवस्थापन गर्न निर्देशन दिइरहेका छन् । एसएसपी ढकालले बाहिर जान नमिले पनि कार्यालयबाट उपत्यकाका सबै मातहतका निकायलाई निर्देशन दिइरहेको बताउनुभयो । नेपाल समाचार पत्रमा खबर छ । 

प्रतिक्रिया दिनुहोस