पछिल्लो वर्ष जतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्याट्टै एक हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाउने घोषणा गरे, त्यतिबेला अर्थशास्त्रीहरूको तप्काबाट विभिन्न प्रतिक्रियाहरू आए । यस्तो प्रतिक्रिया आउनु स्वभाविक थियो ।
तर अनपेक्षित कुरा के थियो भने भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले यस विषयमा सार्वजनिक टिप्पणी गर्ने विकल्प चुने । नोटबन्दीको एक हप्तापछि विराट कोहलीले एउटा प्रेस कन्फ्रेन्समा भने– ‘मैले भारतीय राजनीतिको जति इतिहास देखेको छु । त्यसमध्ये निश्चित रूपमा यो कदम आजसम्मकै महान पहलकदमीहरू मध्येको एक हो । म यसबाट यति प्रभावित भएको छु कि म आफै निकै अविश्वसनीय छु ।’
नेताहरूका साथ क्रिकेटरहरूको र क्रिकेटरहरूका साथ नेताहरूको हिमचिम कुनै नौलो कुरा होइन । कैयौँ दशकदेखि भाजपा र काङ्ग्रेस दुवै दलका नेता क्रिकेट प्रशासन (सायद कुप्रशासन) मा सक्रिय छन् । सबै दलका नेताहरू जित्दै गरेको क्रिकेट टोलीसँग फोटो खिचाउन चाहन्छ । फेरि पनि कोहलीको बयान भने अनौठो थियो ।
यसभन्दा अघि कुनै पनि भारतीय खेलाडीले सत्तामा बसेका प्रधानमन्त्रीको यति धेरै खुलेर पक्ष लिएका थिएनन् । (हाम्रा क्रिकेटका कप्तानलाई राजनीति, इतिहास अथवा अर्थशास्त्रका बारेमा के थाहा छ, जसले गर्दा उनले नोटबन्दीलाई ‘भारतीय इतिहासको महानतम पहलकदमी’ भन्ने आफ्नो दाबीलाई सही भन्न सकून् । जे होस् यो छुट्टै विषय हो ।)
भारत त्यस्तो देश हो जहाँ, मानिसहरू क्रिकेट खेलाडीहरू र फिल्मी सुपरस्टारहरूमाथि निकै माया छर्किने गर्छन् । हाम्रा क्रिकेट खेलाडी त कहिले काहीँ मात्र शक्तिशाली नेताहरूको पक्ष लिन्छन्, तर हाम्रा फिल्मका सुपरस्टारहरूले त यो काम गरिरहेकै छन् । जुन अभिनेता जति नामी र ठूलो छ, ऊ यो मामिलामा त्यति नै धेरै अवसरवादी र लम्पट छ ।
शताब्दीकै महानायकका रूपमा भनिने अमिताभ बच्चनको उदाहरण नै लिनुस् न, जो भारतीय सिनेमाको इतिहासमा दर्शकहरूको सबैभन्दा धेरै माया पाउने अभिनेता हुन् । सन् १९८० को दशकमा अमिताभ बच्चन काङ्ग्रेसको निकै निकट थिए । यो त्यो समय थियो जति बेला दिल्लीका अधिकांश क्षेत्रमा काङ्ग्रेस सत्तामा आशिन थियो ।
सबैलाई के कुरा थाहा थियो भने उनी राजीव र सोनिया गान्धीका निकै नजिकका मित्र थिए । राजीव गान्धीको आग्रहमा नै बच्चनले काङ्ग्रेसबाट लोकसभा चुनाव पनि लडे र जिते पनि । सन् १९९० को दशकमा बच्चन र नेहरू–गान्धी परिवारमा केही उतारचढाव देखिन थाल्यो । यसैबीच काङ्ग्रेसले भारतीय राजनीतिमा शक्ति गुमाउन लागेको थियो ।
यो त्यही बेला थियो जति बेला कैयौँ क्षेत्रीय दलहरूको उभार हुन लागिरहेको थियो । उनीहरूले मिलेर सन् १९९६ मा संयुक्त मोर्चा सरकारको गठन गरे । यिनैमध्येको एउटा पार्टी, मुलायम सिंह यादव नेतृत्वको समाजवादी पार्टी थियो । यता वच्चन परिवार र नेहरू–गान्धी परिवारबीच मित्रतामा उतारचढाव आइरहेको थियो भने उता मुलायम सिंह र उनका सहयोगीहरूसँग वच्चन परिवारको हिमचिम बढिरहेको थियो ।
सधैँजसो यिनका साथमा फोटो आउँथ्यो र उनीहरू सँगैजसो देखिन्थे । कहिले अमिताभ बच्चनलाई लोकसभाका लागि काङ्ग्रेसबाट टिकट पाइन्थ्यो त कहिले यही कुरालाई सम्झना गर्दै उनकी श्रीमती जया बच्चनलाई समाजवादी पार्टीबाट राज्यसभाका लागि चुनिन्थ्यो । तर यो कुरा यहीँ अन्त्य हुँदैन्, न त अहिले नै यो कुरा सकिएको छ । हालका वर्षहरूमा अमिताभ बच्चन नरेन्द्र मोदी र भाजपाको नजिक आइपुगेका छन् ।
जनवरी, २०१० मा आफ्नो एउटा सिनेमाको प्रमोसनका लागि गुजरात गएका अमिताभ बच्चनलाई गुजरात राज्यको ब्रान्ड एम्बेसडर बनाउने प्रस्ताव गरियो । त्यो प्रस्ताव एउटा यस्तो मुख्यमन्त्रीले गरेका थिए, जो सन् २००२ को धार्मिक हिंसालाई पछि छोड्न लालायित थिए र राजनीतिको राष्ट्रिय मञ्चमा आफ्नो स्थान बनाउने सपना कोरल्दै थिए । बच्चनले त्यस प्रस्तावलाई स्विकार गरे ।
मई, २०१६ मा अमिताभ बच्चनले प्रधानमन्त्रीका रूपमा मोदी शासनकालको दुई बर्षे उत्सवको अवसरमा राखिएको सरकारी कार्यक्रमको आयोजक बने । त्यसपछि उनले मोदीको आर्थिक नीतिहरूको सक्रिय रूपमा प्रचारप्रसार गरे । एउटा अभिनेता जो कुनै बेला काङ्ग्रेस र समाजवादी पार्टीसँग आफ्नो उठबस र नजिक रहेको देखाउन चाहन्थ्यो, ऊ आज तिनीहरू भन्दा विल्कुलै भिन्न तेस्रो पार्टीको शरणमा छ ।
पश्चिममा दरिलो सामाजिक र राजनीतिक विचार भएका अभिनेताहरूलाई धेरैजसो साहसी र दृढ देखिएको छ । तर, यस्तो होइन कि भारतमा अभिताभ वच्चन मात्र अपवाद हुन् । हिन्दी फिल्मका अभिनेताहरू सत्ताधारी राजनीतिकज्ञहरूसँग जोडिएका छन् र जोडिन चाहन्छन् । यसको अपवाद भने तपाईंलाई हिन्दी क्षेत्रको भन्दा बाहिर नै भेटिन्छ । जस्तो कि कुनै बेला एमजी रामचन्द्रन र एनटी रामारावको मामिलामा देखियो ।
अभिनेता पनि नागरिक हो । उसको पनि राजनीतिक दृष्टिकोण अथवा निर्वाचनका लागि उनीहरूलाई आरोपित गरिनु हुँदैन । तर, अमिताभले सजिलैसित पहिलो पार्टीबाट दोस्रो पार्टी र फेरि तेस्रो पार्टीको यात्रा तय गर्नु भनेको अवसरवादभन्दा केही पनि होइन ।
उनको व्यवहारको तुलना सम्मानित हलिउड अभिनेताहरूको व्यवहारसँग गर्नुस् त । उनीहरूको पनि राजनीतिक सम्लग्नता छ । तर उनीहरूको यो सम्लग्नता कुनै एउटा राजनीतिक विचारधारासँग मात्र रहेको पाइन्छ । हलिउड अभिनेता जर्ज क्लुनी एउटा प्रसिद्ध डेमोक्रेट हुन् । यदि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, आफ्नो घुँडाले टेकेर उनलाई आफ्नो शपथ ग्रहण समारोहमा सहभागी हुन भन्थे भने पनि उनले क्लुनीलाई फकाउन सक्दैनथे ।
प्रतिक्रिया दिनुहोस