विदेशी कामदार ल्याउँदा अनिवार्य स्वीकृति लिन आग्रह

रासस

मंगलबार, १३ साउन २०७७, १९ : १६
विदेशी कामदार ल्याउँदा अनिवार्य स्वीकृति लिन आग्रह

फाइल तस्विर

काठमाडौं । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले विदेशी कामदार ल्याउँदा अनिवार्यरुपमा प्रशासनको स्वीकृति लिन उद्योगी व्यवसायीलाई आग्रह गरेको छ । सङ्घले आज प्रेस विज्ञप्ति प्रकाशित गरी भारतलगायत अन्य मुलुकका कामदार ल्याउँदा प्रशासनको स्वीकृति लिन आग्रह गरेको हो । 

विश्वमा फैलिएको कोभिड–१९ का कारण सरकारले गत चैत ११ गतेदेखि लागु गरेको लकडाउन पछि पनि कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकामा सङ्घको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै नेपाली उद्योग प्रतिष्ठानमा काम गर्ने कामदार ल्याउँदा स्थानीय तहमार्फत अनिवार्य क्वारेन्टिनमा राख्ने, आवश्यक भएमा पिसिआर जाँच गराउने र विदेशी नागरिक कामदार भएमा अनिवार्य प्रशासनको स्वीकृति लिएर मात्रै ल्याउन आग्रह गरिएको हो ।  

सङ्घका अध्यक्ष खिमबहादुर हमालद्वारा हस्ताक्षरित विज्ञप्तिमा झण्डै चार महिना लामो लकडाउन अन्य भएपछि पनि बुटवल बजार क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमण देखिएकाले सबै सचेत रहन भनिएको छ । 

त्यसैगरी व्यवसायी तथा उपभोक्ता समेतलाई भीडभाड कम हुने उपाए अपनाउन र डिजिटल भुक्तानी प्रणाली अवलम्बन गर्न आग्रह गर्दै पिसिआर परीक्षणको दायरा बढाउन तथा व्यक्तिगत सुरक्षाका उपाय अवलम्बन गराउने कामलाई समेत प्रभावकारी बनाउन तीनै तहका सरकारसँग जोडदार माग गरिएको छ । 

प्रतिक्रिया दिनुहोस