स्थानीयको साहस : ४० हजार सहयोगमा ४ लाखको मन्दिर

विहीबार, १७ फागुन २०७४, १७ : १७
स्थानीयको साहस : ४० हजार सहयोगमा ४ लाखको मन्दिर

मकवानपुर । सबै जना एक भएमा गर्न नसक्ने भन्ने केही हुँदैन भन्ने कुरालाई मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ का स्थानीयले प्रमाणित गरिदिएका छन् । वडा नम्बर ६ को कार्यालयले मन्दिर निर्माणको लागि जम्मा ४० हजार दिएको भए पनि स्थानीयले एकजुट भएर पन्ध्र बिगाह जमिनमा ४ लाखको मन्दिर निर्माण गरेका छन् । स्थानीय तथा वडा कार्यालयको सहयोगमा दक्षिणकाली माई मन्दिर निर्माण सम्पन्न भएको हो ।
दक्षिणकाली माई मन्दिर निर्माण उपभोक्ता समितिको सक्रियतामा हेटौडा–६ रामनगरमा मन्दिर निर्माण भएको हो । मन्दिर निर्माणको लागि हेटौडा उपमहानगर पालिका वडा नं ६ बाट रु ४० हजार नगद सहयोग प्राप्त भएको थियो भने बाँकी स्थानियबाट चन्दा सहयोग तथा श्रमदानमा मन्दिर निर्माण गरिएको दक्षिणकाली माई मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष श्यामकर्ण नगरकोटीले जानकारी दिए ।

मन्दिर निर्माण सम्पन्न भएसँगै फागु पुर्णिमाको अवसर पारेर आज मन्दिरको उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी ६ नं वडाका अध्यक्ष अर्जुन प्रसाद चौंलागाईले ४० हजारको आर्थिक सहयोगबाट ४ लाखको मन्दिर निर्माण गर्न सक्नु प्रसंशनीय कार्य भएको उल्लेख गरे । साथै आगामी दिनमा आफ्नो नितरन्तर सहयोग रहने प्रतिबद्धता समेत जनाए ।

दक्षिणकाली माई मन्दिर सेवा समितिका अध्यक्ष कृतिमान श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा ६ नं वडाका वडा सदस्य राजकुमार बास्तोला,रामहरी राई, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगाायत स्थानीयको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस