किसानलाई गाडीभन्दा घोडाको भर

विहीबार, १७ फागुन २०७४, १४ : ५२
किसानलाई गाडीभन्दा घोडाको भर

तेह्रथुम । छथर गाउँपालिकाका सबै वडा सडक सञ्जालसँग जोडिएका छन् । अब हरेक वडाका गाउँ–गाउँसम्म सडक पुगेको छ । एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न सवारी साधनको अभाव छ, तर सडकको अभाव भने छैन ।

गाउँलेले आफैँ लगानी गरेर भए पनि सडक खनेका छन् । जिल्लामा अहिले पनि गाडी चढेरै धेरै वडा कार्यालयसम्म पुग्न सकिन्छ । उत्पादन गरेको कृषि उपज बजारसम्म पु¥याउन छथर गाउँपालिका–१, आङ्दिमका राजकुमार पन्त घोडा प्रयोग गर्नुहुन्छ । व्यावसायिक गाई फार्म सञ्चालन गरी दैनिक दूध बिक्री गर्दै आउनुभएका उहाँले आवश्यक पर्ने सामान आयात र दूध ढुवानीका लागि घोडाको प्रयोग गर्नुहुन्छ ।

पन्तले अहिले तीनवटा घोडा पाल्नुभएको छ । ढुवानीका लागि घोडा पालेको उहाँ बताउनुहुन्छ । सडकको पहुँच भए पनि गाडीभन्दा घोडा नै भरपर्दो भएको उहाँको भनाइ छ । “गाडीभन्दा घोडा सस्तो र भरपर्दो छ,” उहाँले भन्नुभयोे ।

पन्तले घोडामार्फत सामान र दूध ढुवानी गरेरै मासिक रु ४५ हजारभन्दा बढी आम्दानी गरिरहनुभएको छ । छथर गाउँपालिकामा पन्तजस्तै अरु धेरैले उत्पादन गरेको दूध ढुवानी गर्न घोडाको प्रयोग हुँदैआएको छ । किसानले ढुवानीका लागि सवारी साधनभन्दा भरपर्दो भएकाले घोडा खरिद गरेका हुन् । उनीहरुले दूध ढुवानीकै लागि सहकारी संस्थामार्फत घोडा खरिद गरेका छन् ।(रासस)

 

प्रतिक्रिया दिनुहोस