अवरुद्ध पृथ्वीराजमार्ग पुनः सञ्चालन

रासस

मंगलबार, ०६ साउन २०७७, २१ : १५
अवरुद्ध पृथ्वीराजमार्ग पुनः सञ्चालन

फाइल तस्विर

काठमाडौं । सोमबार रातिदेखि परेको अविरल वर्षापछि पृथ्वीराजमार्गको ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध भएको मुग्लिन–पोखरा सडकखण्ड साँझ ८ बजेदेखि पुनः सञ्चालन भएको छ । पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिकामा पर्ने मार्कीचोक र ऐनापहरामा गएको पहिरो पन्छाएपछि अवरुद्ध राजमार्ग पुनः सञ्चालनमा आएको हो ।   

पृथ्वीराजमार्ग क्षेत्रमा सानाठूला गरी करीब दश स्थानभन्दा बढी स्थानमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । बिहान ७ बजेदेखि पाँचवटा डोजर, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको सक्रियतामा अवरुद्ध पहिरो हटाउन प्रयोग गरिएको उहाँले बताउनुभयो । 

सोमबार बिहान पानी परिरहे पनि दिउँसो पानी रोकिएपछि घाम लागेका कारण पहिरो पन्छाउन सहज भएको हो । उहाँले भन्नुभयो, “मौसमले साथ दिएका कारण पहिरो हटाउन सफल भएको हौँ ।” पृथ्वीराजमार्गअन्तर्गत दमौली–थर्पु र दमौली–डुम्रे सडकखण्ड क्षेत्रको पहिरो पन्छाई सकेपछि बाँकी रहेको आँबुखैरेनी क्षेत्रको पहिरो हटाएपछि राजमार्ग पुनः सञ्चालन भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । 

तीस घरपरिवार विस्थापित 
अविरल वर्षाका कारण मङ्गलबार बिहानसम्म तीस घर विस्थापित भएका छन् । राजमार्गअन्तर्गत जिल्लाको बन्दिपुर गाउँपालिका–१ नाला नजीकै करीब दश मिटर लामो पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ भने कम्तीमा पन्ध्र घरका परिवार गरी करीब ७५ जना विस्थापित भएका छन् । 

पहिराले घर तल बगाउन थालेपछि मानिसहरु छिटो घरबाट भाग्न सफल भएका कारण मानवीय क्षति भने हुन नपाएको बन्दिपुर–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार त्यस क्षेत्रका ६ घरपरिवारलाई छिमेकी र स्थानीय आमा समूहको भवनमा सारिएको छ । विस्थापित हुनेमा अर्जुन अधिकारी, सुरेश अधिकारी, कुलनारायण थापा, बलबहादुर शाही, रतन शाही र टीकाराम श्रेष्ठको घर पूर्ण रुपमा क्षति भएको छ भने अन्यको घर चिरिएको अवस्थामा रहेको छ । 

त्यसैगरी डुम्रे बजार नजीकै केही महिनाअघि मात्रै स्थापना गरिएको कुँवेर आयल स्टोर्समा समेत पहिराले ठूलो क्षति भएको छ । त्यसैगरी बन्दिपुर गाउँपालिकाको–४ र ६ का आठ घरपरिवार पहिराले विस्थापित भएको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो । कतिपय मानिसहरु अझै सम्पर्कमा आउन नसकेका कारण क्षतिको विवरण बढ्न सक्ने अनुमान गरिएको छ । 

त्यसैगरी जिल्लाको आँबुखैरेनी–२ खोलागाउँमा पहिराले घरमा क्षति पु¥याउँदा चार घरपरिवार विस्थापित अवस्थामा पुगेका छन् । विस्थापित परिवारमध्ये केहीलाई तत्कालका लागि छिमेकीको घरमा र केहीलाई सङ्घसंस्थाको भवनमा स्थानान्तरण गरिएको छ । आँबुखैरेनी–४ स्थित ऐनापहरा नजीक केही समय अघि पहिराले राजमार्ग अवरुद्ध हुँदा आठ घण्टापछि पुनः सञ्चालन गरिएको थियो । सोमबार मात्रै जिल्लाको भानुनगरपालिकमा पहिराले घर पुरिँदा नातिनी र बज्यै गरी दुई जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस