युवा पत्रकार रिजालको लकडाउन डायरी ‘एकान्तवास’ बजारमा

रासस

शनिबार, ०३ साउन २०७७, १० : १५
युवा पत्रकार रिजालको लकडाउन डायरी ‘एकान्तवास’ बजारमा

चितवन । चितवनका युवा पत्रकार विनोदबाबु रिजालले लेखेको पुस्तक ‘एकान्तवास’ बजारमा आएको छ । कोभिड–१९ महामारीको कारण गरिएको विश्वव्यापी लकडाउनका बेला भोगेका, देखेका र सुनेका विविध सन्दर्भ समेटेर लेखिएको डायरी एकान्तवास हो । यसलाई ‘लकडाउन डायरी’ पनि भनिएको छ ।

‘मेरो मात्रै होइन, हामी सबैका अनुभूतिको प्रतिविम्ब समेटेको छु’, लेखक रिजालले भने, ‘कोरोना भाइरस र यसले निम्त्याएको लकडाउन हाम्रो जीवनकालमा भोगेका सबैभन्दा अविष्मरणीय घटना हो, यसलाई कसैले पनि भुल्न सक्दैन ।’ किताबमा २०७६ चैत ११ देखि २०७७ जेठ ३२ सम्म गरिएको कठिन लकडाउनका सन्दर्भ समेटिएको साहित्यकार बालकृष्ण थपलियाले बताए । हरेक दिनका घटना र गतिविधिका टिपोटलाई पत्रकार रिजालले निबन्धात्मक रूप दिदैं एकान्तबास बजारमा ल्याएका छन् ।  

लकडाउनको तत्कालीन समयका आर्थिक, राजनीतिक, सामाजिक विषयवस्तुलाई समेत उल्लेख गर्दै आफ्ना अनुभूति दैनिकीमा समेटिएको थपलियाको भनाइ छ ।   विसं २०६१ बाट पत्रकारिता शुरुवात गरेका रिजाल कायाकैरन दैनिकमा सम्पादक पदमा कार्यरत छन् । स्थानीय रेडियो, टेलिभिजनमा पनि समाचार प्रमुख भएर काम गरिसकेका रिजालले राष्ट्रिय मिडियामा पनि लामो समय काम गरेका छन् । युरेका पब्लिकेसनले प्रकाशन गरेको पुस्तक नारायणगढको सम्पूर्ण किताबले बजारमा उपलब्ध गराएको छ । 

तीन सय पृष्ठको किताबको मूल्य रु ३७५ राखिएको युरेका पब्लिकेसन तथा सम्पूर्ण किताबका लेखराम सापकोटाले बताए । पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले पत्रकारलाई लेखन क्षेत्रमा प्रोत्साहित गर्नुपर्ने भन्दै आफूले पुस्तक छापिनुअघिनै किताबको मूल्य भुक्तानी गरेर अग्रिम बुकिङ गरेको बताए । उनले भने, ‘किताब किनेर पढीदिन सबैमा अनुरोध गर्छु ।’ 

प्रतिक्रिया दिनुहोस