मनसुन सुरू भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु

सोमबार, २९ असार २०७७, १७ : ४०
मनसुन सुरू भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु

काठमाडौं। सरकारले यस वर्षको मनसुन सुरू भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु हुनुका साथै ४६ जना बेपत्ता भएको जानकारी दिएको छ। प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा मुलुकका विभिन्न भागमा भएका बाढी र पहिरोका घटनाबाट १३४ घर पूर्णक्षति भएको गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने बताए। 

२०७२ को भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक, गोरखा र रसुवालगायतका जिल्ला नै बाढीपहिरोबाट अति जोखिम क्षेत्रका रूपमा रहेको जानकारी दिँदै गृह मन्त्रालयले हालसम्मको अवस्था विश्लेषणबाट प्रदेश २ का जिल्लामध्ये रौतहट बढी प्रभावित पाइएको बताएको छ।

बाढीपहिरोबाट १४ जिल्लाका ११ हजार घर उच्च जोखिमा रहेकामा ७०७ घर भने तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको जानकारी दिइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले बाढी र पहिरोबाट मध्यपहाडी र डुबानबाट तराईका जिल्ला अति जोखिममा रहेको जानकारी दिए। 

उनले भने, “विगत १० वर्षको मनसुनको अध्ययन विश्लेषण गर्दा मनसुन सुरु भएको ३० दिनको पहिलो अवधि बाढी पहिरोका हिसाबले डरलाग्दो हुने गरेको छ।” गृहमन्त्री रामबहादुर थापाले प्राकृतिक प्रकोपका घटनापछिको राहत र उद्धारका लागि कानुन, संरचना, नीति र योजना निर्माणलाई वस्तुवादी र वैज्ञानिक बनाइँदै लगिएको बताए। 

उनले भने, “विपद्को दोष प्रकृतिलाई दिन मिल्दैन, मानिसले सिर्जना गरेको हो, अज्ञानता र कमजोरीका कारण धनजनको क्षति हुँदै आएको छ। जनधनको रक्षाका लागि सरकारले प्रभावकारी कदम चालिरहेको छौँ।”

अव्यवस्थित बसोबास क्षतिको मुख्य कारक हो भन्दै गृहमन्त्री थापाले प्राकृतिक प्रकोपका घटनाको गहन समीक्षा गरेर वस्तुवादी नीति बनाइने दृढता व्यक्त गरे। 

प्रतिक्रिया दिनुहोस