विद्यार्थीलाई नियमित गराउन सेमेस्टर

बुधबार, १६ फागुन २०७४, १२ : ४१
विद्यार्थीलाई नियमित गराउन सेमेस्टर

भरतपुर: त्रिभुवन विश्वविद्यालयले यो वर्षदेखि स्नातकोत्तर तहको पढाइ सेमेस्टर प्रणाली मार्फत गर्ने तयारी गरेको छ । सम्बन्धन लिएका क्याम्पस, आंगिक क्याम्पसमा समेष्टर प्रणाली लागु गर्न देशव्यापी अभियान समेत चलाएको छ ।
परिक्षाको मुखमा मात्रै पढेर पास हुने, नियमित क्याम्पसनै नगइ पढाइ पुरा गर्ने अवस्थालाइ समेस्टर प्रणालीले  अन्त्य गर्नेछ । शिक्षकले पनि सामान्य ‘नोट’ लेखाएर उम्कने प्रवृत्ति समेत अन्त्य हुनेछ । शिक्षक र विद्यार्थीको लगाव र मिहेनतलाई बढाउन यो विधि निकै उपयोगी मानिन्छ । विद्यार्थी आकर्षण घटेसँगै त्रिविले उपत्यका बाहिर समेत नयाँ शैक्षिक प्रणाली लागु गर्न लागेको हो ।

प्राविधिक विषयमा स्नातक र स्नातकोत्तर तहमा समेस्टर प्रणाली सुरु गरिसकेको छ । तर, विद्यार्थी चाप बढी हुने शिक्षाशास्त्र, मानविकि संकायका सबै विषयमा उपत्यका बाहिर समेस्टर प्रणाली लागु गर्न सकेको थिएन । “पठनपाठनलाइ नियमित बनाउन र विद्यार्थीलाई मिहेनती बनाउन समेस्टर प्रणाली लागु गर्न लागेका हौँ”, त्रिविका शिक्षा शास्त्र संकायका डिन प्राध्यापक डा. कृष्णप्रसाद गौतमले भने, “स्नातकोत्तर तहमा अब देशभर समेस्टर प्रणाली लागु हुनेछ, पाठ्यक्रम बारे जानकारी गराउन अभियान चलाएका छौँ ।” उनका अनुसार प्रदेश १ र २ मा रहेका क्याम्पस र आंगिक क्याम्पसलाइ लक्षित गरि मोरङमा, ६, ७ र ५ का केही क्षेत्रलाई समेटेर नेपालगञ्जमा र काठ्माण्डौमा समेस्टर प्रणालीका सम्भावना र चूनौती, परिक्षा प्रणालीबारे जानकारी दिने गरि अभिमुखिकरण कार्यक्रम गरिने छ ।

यस्तै  शिक्षा शास्त्र संकाय डिनको कार्यालयले प्रदेश ३, ४ र ५ का केही क्षेत्रका आंगिक र सम्बन्धन लिएका क्याम्पसलाई लक्षित गरि भरतपुरमा दुई दिने अभिमुखिकरण कार्यक्रम समेत गरेको छ । सो अभिमुखिकरणमा ८० वटा क्याम्पसका प्रमुख, विभागिय प्रमुख, स्नातकोत्तर तहमा पढाउने प्राध्यापकको सहभागिता रहेको थियो । “वार्षिक प्रणालीबाट पढाएर राम्रो नतिजा आउन सकेन”, उनले भने, “स्वदेश तथा अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न समेस्टर प्रणालीको विकल्प छैन ।” एक पटक पढेका कुरा वर्ष दिनपछि परिक्षा लिदा नतिजा समेत राम्रो आउन नसकेकाले  प्रणाली लागु गर्न खोजिएको बताए । “६÷६ महिनाको कोर्स हुन्छ, ६ महिनामा ४ पटक परिक्षा लिन्छौँ”, उनले भने, “जाँच दिइरहनुपर्ने भएपछि विद्यार्थी पनि पढाइमा केन्द्रीत हुन्छन्, नतिजा पनि राम्रो आउँछ ।” वार्षिक प्रणालीमा वर्षमा एक पटक मात्रै परिक्षा सञ्चालन गर्दा विद्यार्थी नियमित क्याम्पस नजाने, परिक्षाको मुखमा मात्रै पढ्ने, जागिरमा बढी व्यस्त बन्ने कारणले दक्ष जनशक्ति उत्पादनमा समेत समस्या आएको उनको भनाइ छ । अन्य अधिकांस विश्वविद्यालयले स्नातक तहदेखिनै समेस्टर प्रणाली लागु गरिसकेका छन् । तर, त्रिविले स्नातक तहदेखिनै समेस्टर प्रणाली लागु गर्न हालसम्म सकेको छैन ।


“पढाइ पुरा गर्ने तर प्रयोगमा आउन नसक्ने जनशक्ति उत्पादन गर्नु भन्दा दुःख गरेरै भएपनि राम्रा जनशक्ति उत्पादन गरौँ भन्ने मूल लक्ष्य हो”, डिन गौतमले भने, “उपत्यकाका गतवर्षदेखिनै समेस्टर लागु भएको छ, यो वर्षदेखि देशभरिनै मास्टर तहमा लागु गर्दैछौँ ।” शिक्षा शास्त्रको संकायको समेस्टर प्रणालीमा आधरित पाठ्यक्रम बारे जानकारी दिने उद्येश्यले ११ वटा विषयगत कक्षामै राखेर अभिमुखिकरण गरिएको छ । सप्तगण्डीकी बहुमुखि क्याम्पस भरतपुरका प्रमुख खेमनारायण सापकोटाले विश्वमा स्थापित समेस्टर प्रणालीले शैक्षिक दक्ष जनशक्ति उत्पादनमा सघाउने बताउँछन् । “नेपालमा औपचारिक शिक्षा भने पनि अनौपचारिक रुपमा पठनपाठन हुने गर्दथ्यो”, उनले भने, “परिक्षा फर्म भर्न आउने, अनि एकै पटक परिक्षामा सहभागि हुँदा दक्षजनशक्ति उत्पादनमा समस्या थियो, अब त्यो अवस्था रहदैन ।” उनले स्नातक तहदेखिनै समेस्टर लागु गर्न नसकिएपनि स्नातकोत्तर तहबाटै भएपनि समेस्टरमा आधरित शैक्षिक कार्यक्रम सञ्चालन गर्दा अपेक्षित नतिजा हासिल गर्न सहज हुने बताए ।

धौलागिरी क्याम्पस बागलुङका प्रमुख रामप्रसाद उपाध्यायले समेस्टर प्रणाली सञ्चालन गर्न चूनौतीपूर्ण रहेपनि दिर्घकालमा नतिजा राम्रो ल्याउने बताए । “अहिलेको अवस्थामा ५० जना भर्ना हुन्छन्, कक्षामा १० जना पनि हुँदैनन्”, उनले भने, “समेस्टरले विद्यार्थीलाई नियमित कक्षामा बसेर पढ्न प्रेरित गर्छ, गुणात्मक शिक्षा दिन पनि सहज हुन्छ ।” उनले आंगिक क्याम्पसको प्राविधिक तथा भौतिक समस्या सुधार नहुँदा सम्म सहज रुपमा समेस्टरमा पढाउन कठिन हुने बताउँछन् । नेपालमा त्रिविका ३० वटा आंगिक क्याम्पस छन् भने १ हजार ८५ वटा सम्बन्धन लिएका क्याम्पस सञ्चालनमा छन् । जसमध्ये शिक्षा शास्त्र संकायमा स्नातकोत्तर तहसम्म पढाइ हुने सम्बन्धन लिएका ९३ र आंगिक क्याम्पस २० वटा रहेका छन् ।  प्रणालीले विद्यार्थीलाई अनुसन्धानमूलक शिक्षामा केन्द्रीत गराउने अपेक्षा लिइएको छ । 

प्रतिक्रिया दिनुहोस