समाजवादी पार्टीबाट सरिता गिरीलाई निष्काशन गरियो, अब सांसद रहिनन्

सफल खबर संवाददाता

मंगलबार, २३ असार २०७७, १६ : ५४
समाजवादी पार्टीबाट सरिता गिरीलाई निष्काशन गरियो, अब सांसद रहिनन्

काठमाडौं । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निस्कासन गरेको छ । यससँगै गिरी सांसद पदबाट पदमुक्त भएकी छन् ।

पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसैअनुसार पार्टीले निर्णय गरेको हो ।

पार्टी ह्वीप उल्लंघन गरेको आरोपमा गिरीलाई कारबाही गरिएको समाजवादी पार्टीले जनाएको छ । तथ्य र प्रमाणका आधारमा राष्ट्रिय महत्वको विषयमा पार्टी निर्देशन र ह्वीप नमानेको कारण पार्टी र संसदबाट निष्कासन गर्न सिफारिस गरिएको हो । 

लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा सांसद गिरीले पार्टी ह्वीप उल्लंघन गरेकी थिइन्।

जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो । समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । 

संसदमा बोल्न नपाएपछि सांसद गिरी भने बैठक चलिरहँदा बाहिरिएकी थिइन् । सो विषयमा छानबिन गर्न समाजवादी पार्टीले पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल बनाएको थियो । 

प्रतिक्रिया दिनुहोस